• १३ असोज २०८१, आइतबार

बर्दीबासमा सुविधा सम्पन्न ब्याडमिन्टन कभर्ड हल

blog

बर्दीबास कर्भड हलको उद्घाट्न समारोहका सहभागिहरु । तस्बिर : गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन ७ गते । बर्दीबासमा सुविधा सम्पन्न कभर्ड हल निमार्ण भएको छ । करिव २ करोड रुपियाँमा निर्माण गरिएको ब्याडमिन्टन कर्भडहलको सोमवार प्रजातंत्र दिवसको अवसरमा बर्दीबास नगरप्रमुख प्रहलाद क्षेत्रीले उद्घाटन गर्नु भएको हो । 

क्षेत्रीले खेल पर्यटनकोे प्रचुर सम्भावना बोकेको बर्दीबासमा कभर्ड हलको निर्माणले खेल क्षेत्रको संस्थागत विकाशमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । अन्तर्राष्ट्रि स्तरको इन्डोर गेम सञ्चालन गर्न सकिने मधेश प्रदेशकै भब्य र सुविधा सम्पन्न मानिएको यो कर्भड हल निर्माणमा अहिलेसम्म २ करोड रुपैया खर्च भैसकेको छ ।

प्रदेश सरकारको १ करोड, ब्याडमिन्टल खेलाडीहरुबाट २० लाख र बर्दीबास नगरपालिकाले ५३ लाख लगानी गरेको कभर्ड हल निर्माण समितिका अध्यक्ष विष्णु खड्काले बताउनुभयो । बर्दीबासस्थित गौतम रियल स्टेटका पुष्पाखर गौतम, दीपाल गौतम, कृष्णप्रसाद गौतम र कुमार गौतमले ३ करोड मूल्यवरावरका ५ कट्ठा जग्गा निशुल्करुपमा उपलब्ध गराएपछि ०७५ साल माघदेखि कर्भड हल निर्माणको काम सुरु भएको थियो । 

यसमध्ये ७ हजार २२० वर्गफिटमा फैलिएको कभर्ड हलमा एकैसाथ ३ वटा गेम गराउन सकिने ब्याडमिन्टन कोर्टहरु छन् । प्रकाश संयोजन, आधुनिक मञ्च, लगाएतका सुविधाहरु छन् । माथिल्लो तलामा एकैसाथ ५ सय जना क्षमताको दर्शक दीर्घा पनि छ । 

तथापि कपाउण्ड वाल, वास रुम, ब्यवस्थित पार्किङ, गेट, फिनिसिङ, दर्शक दीर्घाका कामहरु भने खर्च अभावले अझै अघि बढन नसकेको बर्दीबास ब्याडमिन्टन सङ्घका अध्यक्ष पोषण थापाले बताउनु भयो ।

कर्भड हलका साथै नगर प्रमुख क्षेत्रीले सोमवारदेखि आयोजित प्रदेश स्तरीय चौथो मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिताको पनि उद्घाटन गर्नु भयो । प्रतियोगितामा मधेश प्रदेशका ८ र सिन्धुलीकासमेत गरि ९ जिल्लाका ३६ टिमका ७२ जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।