• २६ वैशाख २०८१, बुधबार

प्रजातन्त्र दिवसले राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गरोस् : प्रदेश प्रमुख शर्मा

blog

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा । तस्बिरः अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, फागुन ७ गते । 
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले फागुन ७ मा मनाइँदै गरिएको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्नुहुँदै समुन्नत राष्ट्र निर्माणमा दिवसले प्रेरणा प्रदान गरोस् भन्नुभएको छ ।

दिवसका अवसरमा प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रजातन्त्र प्रेमी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्नुका साथै नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सबै प्रकारका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

‘‘प्रजातन्त्र दिवसले हामी सबैलाई देश विकास, समृद्धि र समुन्नत राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गरोस् ।,’’ प्रमुख शर्माको प्रजातन्त्र दिवसको सन्देशमा उल्लेख छ ।

वि.सं. २००७ साल आजैका दिन मुलुकमा जहानियाँ निरङ्कुश शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको प्रमुखको सन्देशमा छ । ‘‘जनताको सङ्घर्षले जीत हासिल गरेको ऐतिहासिक दिनको स्मरण गर्दै आज हामी प्रजातन्त्र दिवस मनाइरहेका छौँ ।’’ प्रमुख शर्माले भन्नुभएको छ ।

आज हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था विगतकै त्याग, तपस्या र बलिदानीको उपलब्धि भएको प्रमुख शर्माको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘हाम्रा जनप्रतिनिधिमार्फत प्राप्त गरेको सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक एवम् समावेशितासहितको संविधानको जग २००७ सालको प्रजातान्त्रिक आन्दोलन नै हो ।’’

विगतका परिवर्तनकारी आन्दोलन, सङ्घर्ष एवम् गौरवपूर्ण इतिहासलाई सम्मान गर्दै सहिदहरूले मार्ग दर्शन गर्नुभएको सपना एवम् जनआकाङ्क्षालाई मूर्त रूप दिने दिशामा अघि बढ्नु हामी सबैको दायित्व भएको शर्माले बताउनुभएको छ ।