• १६ वैशाख २०८२, मङ्गलबार

राससको ६३औँ वर्षमा प्रवेश

blog

काठमाडौँ, फागुन ७ गते । मुलुकको प्रमुख समाचार समितिका रूपमा निरन्तर समाचार सेवा प्रदान गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस) आजदेखि ६२ वर्ष पूरा गरी ६३ औँ वर्ष प्रवेश गरेको छ । आजको यस विशेष दिनमा यस समाचार समितिलाई जन्म दिने संस्थापकहरूप्रति हार्दिक नमन गर्दै उहाँहरूको स्मरण गर्न चाहन्छु । साथै गएको छ दशकभन्दा लामो समयदेखि मुलुकको समाचार समितिका रूपमा अनवरत सेवा दिने यस समितिमा संलग्न सबै नेतृत्व वर्ग, कर्मचारी एवं सञ्चारकर्मी सबैमा मेरो हार्दिक कृतज्ञता छ । विगतको कठिन परिस्थितिमा पनि उहाँहरूको योगदान र परिश्रमबाट आज रासस यहाँसम्म आइपुगेको छ र हामी ६३ औँ वार्षिकोत्सव मनाउन सक्ने भएका छौँ । यसका लागि सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।    

समाचार समितिको स्थापना मुलुकका पत्रपत्रिकाहरूलाई समाचार दिने एक सहयोगी संस्थाका रूपमा भएको तथ्य त हामीलाई विदितै छ । नेपाल सरकारले विसं २०१४ मा गठन गरेको प्रेस कमिसनले वि.सं २०१५ मा दिएको रिपोर्टमा देशमा पत्रपत्रिकाहरूको सङ्ख्या बढेकाले उनीहरूलाई सहयोग पुगोस् र देशैभरिबाट समाचार सङ्कलन गरी ती पत्रपत्रिकालाई उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले देशमा समाचार समिति स्थापना गर्न सुझाएको थियो । सोही सुझावअनुसार वि.सं २०१६ पुस १ गते नेपाल संवाद समितिको स्थापना भएको हो । देशका युवा पत्रकारहरू गोपालदास श्रेष्ठ, मदन शर्मा, गोविन्द वियोगी र गणेश मानन्धरले नेपाल संवाद समितिको स्थापना गरी पत्रपत्रिकालाई समाचार उपलब्ध गराउने कामको सुरुआत गर्नुभएको थियो । यसरी नेपाल पनि समाचार समिति युगमा प्रवेश गरेको करिब पाँच महिनापछि पत्रकारहरू मणिन्द्रराज श्रेष्ठ, पशुपतिदेव पाण्डे र शङ्करनाथ शर्माले पुनः अर्को समाचार समितिको स्थापना गर्नुभएको थियो । विसं २०१७ वैशाख ३० गते मुलुकको दोस्रो समाचार समितिका रूपमा सगरमाथा संवाद समितिको स्थापना भएको इतिहास छ । 

पछि यी दुवै समाचार समितिलाई गाभेर नेपाल सरकारको व्यवस्थापन एवं मातहतमा रहने गरी २०१८ साल फागुन ७ गते राष्ट्रिय संवाद समितिको स्थापना गरिएको थियो । यसरी रासस स्थापना गर्दा नेपाल सरकारका तर्फबाट सरकारका तत्कालीन सचिव रामराज पौड्याल, नेपाल संवाद समितिका तर्फबाट गोविन्द वियोगी र सगरमाथा संवाद समितिका तर्फबाट मणिन्द्रराज श्रेष्ठ संस्थापकका रूपमा रहनुभएको थियो । वर्तमान राससका संस्थापक उहाँहरूप्रति म आजको यस उत्सवका दिनमा हार्दिक नमन गर्दछु । 

यसरी जन्मिएको देशको प्रमुख समाचार समिति राससले आफ्नो स्थापनाको ६२ वर्ष पूरा गरेको छ । कुनै सञ्चारमाध्यम अनवरत रूपमा ६२ वर्षसम्म सञ्चालनमा रहेर सूचना सेवा प्रदान गर्न सक्नु सामान्य कुरा होइन । अनेक राजनीतिक आरोह अवरोह, प्राकृतिक प्रकोपदेखि लिएर विविध प्रतिकूलता भोग्दै रासस आजसम्म आइपुगेको छ । छ दशकसम्मको आफ्नो सेवामा राससले धेरै अनुभव सँगालेको छ र अनेक इतिहासको साक्षी पनि बनेको छ । योसँग मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं अनेकन भोगाइहरू छन् । दलविहीन निरङ्कुश पञ्चायती व्यवस्था हुँदै विसं २०४६ मा प्रजातन्त्रको पुनः स्थापना, विसं २०६२-६३ को जनआन्दोलन हुँदै लोकतन्त्रको स्थापना तथा संविधानसभाको निर्वाचन र यसको जनमतको आधारमा गणतान्त्रिक नेपालको स्थापनासम्मका ऐतिहासिक घटनाहरूको रासस प्रत्यक्ष साक्षी भएर रहेको छ । यसरी नेपालको इतिहासका अनेक भोगाइहरू सँगाल्दै राससले आफ्नो छ दशकभन्दा लामो इतिहास पूरा गरेको छ । 

समाचार समिति वास्तवमा मुलुकका सबै सञ्चारमाध्यमहरूको साझा सहयोगी संस्था हो । जसरी मुलुकमा समाचार समितिको जन्म त्यस समयका पत्रपत्रिकाको सहयोगका लागि भएको थियो आज पनि समाचार समितिको त्यो मुख्य उद्देश्य र धर्मबाट रासस कति पनि पछि हटेको छैन । आज पनि रासस देशका सबै सञ्चारमाध्यमहरूकै सहयोगी संस्था हो । मिडियाहरूको पनि मिडिया तथा समाचारको मुहानका रूपमा राससले आज पनि देशका सञ्चारमाध्यमहरूलाई सूचना सेवा प्रदान गर्दै आएको छ । विश्वका अन्य देशहरूमा जस्तै हामी पनि नेपालमा सञ्चारमाध्यमहरूको सहयोगी र साझा संस्थाका रूपमा सेवा प्रदान गर्न चाहन्छौँ र गरिरहेका पनि छौँ । 

रासस राज्यको समाचार समिति भएकाले यसको सेवा र यसका समाचार पेजहरूमा राज्यको स्वरूप झल्किनुपर्छ भन्ने मान्यतामा हामी छौँ । हामीले ठान्दछौँ कि यसले दिने सूचना सेवामा समेत राज्यको समावेशी झल्को देखियोस् र राज्यका हरेक जातजाति, भाषा एवं सम्प्रदायका मानिसले राससको समाचार बुलेटिनमा आफूलाई पाउन सकोस् । यसका लागि हामीले पछिल्लो समयमा यहाँ काम गर्ने सञ्चारकर्मी हुन् या कर्मचारीमा समावेशी प्रतिनिधित्वलाई ध्यान दिएका छौँ । 

त्यसैगरी राससले मुलुकका सबै मातृभाषा बुझ्नुपर्छ भन्ने हाम्रो मान्यताबमोजिम नै हामीले विभिन्न मातृभाषाका समाचार सम्प्रेषण गर्ने नीति लिएका हौँ । यसको पछिल्लो उदाहरण हामीले अवधि भाषाको समाचार सेवा सुरु गरेका छौँ । यो मातृभाषाको सेवालाई विस्तार गरी हामी जतिसक्दो धेरैभन्दा धेरै भाषासम्म पुर्‍याउने उद्देश्यका साथ ती प्रयासहरूलाई हामीले जारी राखेका छौँ । हाम्रो यो अभियानमा सहभागी हुन हामीले देशका प्रदेश तथा स्थानीय सरकारलाई आह्वान पनि गरिरहेका छौँ । कतिपय स्थानीय सरकारले हाम्रो समावेशी अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको कुरा पनि म आजको यस विशेष दिनमा जानकारी गराउन चाहन्छु ।

वास्तवमा समाचार समितिले मुलुकका सबै प्रकृति र विधाका सञ्चारमाध्यमहरूलाई सबै समाचार सेवा प्रदान गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । सोहीबमोजिम हामी गएको वर्षदेखि श्रव्यदृश्य सेवा पनि सुरु गरेका छौँ । पत्रकारिताका विकसित विधाहरूमा प्रविधिका कारण पछिल्लो समय डिजिटल पत्रकारिताको स्वरूप र गति बढ्दो छ । यसका लागि श्रव्यदृश्य आवश्यक रहेको ठानेर सुरु गरेको यस सेवाबाट देशका टेलिभिजनहरूका साथै अन्य अनलाइन सञ्चारमाध्यमहरू पनि लाभान्वित भएको हामीले महसुस गरेका छौँ । प्रविधिले अहिलेको पत्रकारितालाई क्षणभरमै संसारको कुनाकाप्चासम्म सूचना प्रवाह गर्नसक्ने क्षमतामा पुर्‍याइदिएको छ । त्यसैले सूचनाको यो द्रुत विकसित र विस्तारित बजारमा आफूलाई पनि अब्बल रूपमा स्थापित र साबित गर्न आफ्ना विविध सेवाहरूलाई थप परिष्कृत गर्दै लैजाने सोचका साथ हामी अघि बढेका छौँ । अर्को कुरा समाचार समिति सुत्दैन अर्थात् उनलाई सुत्ने समय हुँदैन भन्ने पनि हामीलाई हेक्का छ । त्यसैले हामी २४सैँ घण्टा समाचार सेवा प्रदान गर्ने सोचका साथ अघि बढिरहेको कुरा पनि आजको यस विशेष दिनमा जानकारी गराउनु उपयुक्त ठान्दछु । यस कार्यमा नेपाल सरकार मुलुकका सबै सञ्चारमाध्यमहरूका साथै सबैको साथ र सहयोग रहनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ ।