ललितपुर, फागुन ७ गते । नेपाली कांग्रेस महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ । नीति अधिवेशनको म्यान्डेट पाएको महासमिति बैठकमा कांग्रेसको सैद्धान्तिक, वैचारिक र साङ्गठनिक कार्यदिशामाथि विमर्श हुने छ ।
फागुन १० गतेसम्म सञ्चालन हुने बैठकमा देशभरका दुई हजार एक सयभन्दा धेरै महासमिति सदस्यबिच समूहगत छलफल हुने छ । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको नीति प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकबाट प्राप्त सुझावसहित प्रस्तुत गर्नुहुने छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्नुहुने छ । पाँच वटै प्रतिवेदनमाथि समूहगत रूपमा छलफल हुने छ ।
‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता ! स्वतन्त्रता, न्याय र समानता !! नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता !!!’ नारा दिइएको बैठक सोमबार सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने छ ।
तयारी पूरा
कांग्रेस महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आइतबार पत्रकार सम्मेलन गरी महासमिति बैठकलाई व्यवस्थित रूपमा सम्पन्न गर्न गठित सबै समितिले आआफ्नो जिम्मेवारी अनुसार सम्पूर्ण काम अन्तिम चरणमा पु¥याएको बताउनुभयो ।
प्रचारप्रसार उपसमिति, आवास समन्वय उपसमिति, भोजन व्यवस्थापन उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, स्वास्थ्य समन्वय उपसमिति, यातायात व्यवस्थापन उपसमिति, आर्थिक उपसमिति, प्रदेश समन्वय उपसमिति र स्थानीय व्यवस्थापन उपसमितिले महासमिति बैठकको सबै तयारी पूरा गरेका छन् । काठमाडौँका आठ, ललितपुरका चार, भक्तपुरका चार, काभ्रेका दुई, धादिङका दुई र नुवाकोटका दुई स्थानमा स्वागतद्वार निर्माण गरिएको छ ।
नीतिमाथि छलफल
प्रजातन्त्र दिवसकै अवसरमा सुरु हुने कांग्रेस महासमितिले पार्टीको नीति निर्माण गर्छ । नेता विश्वकर्माले भन्नुभयो, “कांग्रेसको वैधानिक प्रावधान अनुसारै आयोजित महासमिति बैठकले समयसापेक्ष रूपमा पार्टीको नीति तय गर्ने छ ।”
उहाँका अनुसार महासमिति बैठकमा फागुन ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएर आएका प्रतिवेदन पेस हुने र सोमबारबाटै विमर्श सुरु हुने छ । उहाँले भन्नुभयो, “तराई, मधेश, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरिने छ । चार वटा हलमा छुट्टाछुट्टै रूपमा प्रतिवेदनमाथि छलफल हुने छ ।”
नेता विश्वकर्माले नीति अधिवेशनको कार्यादेश पाएको महासमितिको बैठकमा प्रस्तुत प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्ने बताउनुभयो । उहाँले व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा सहभागी जनतामाझ कांग्रेसले जनताको अवस्था परिवर्तन गर्न विश्वास र भरपर्दो रूपमा काम गर्ने सन्देश दिने र प्रतिबद्धता व्यक्त गर्ने बताउनुभयो ।
दुई हजार सहभागी
नेता विश्वकर्माका अनुसार महासमितिको बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्य १६५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार ७८० जना सहभागी हुने छन् ।
त्यसै गरी नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराइएको छ । उहाँले आइतबारसम्ममा दुई हजार एक सय पाँच जनाको सूची तयार भएको बताउनुभयो । कांग्रेसले महासमिति बैठकको जानकारी दिन मिडिया सेन्टर पनि स्थापना गरेको छ ।