• ३१ वैशाख २०८२, बुधबार

कांग्रेस महासमिति बैठकमा महामन्त्रीद्वय साङ्गठनिक तथा समसामयिक राजनीतिक प्रस्ताव पेस हुने

blog

काठमाडौं, फागुन ६ गते । नेपाली कांग्रेसको सोमबारदेखि सुरु हुने महासमिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नुहुने भएको छ ।

महासमिति बैठक सम्बन्धमा प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा नीति प्रस्ताव तयारी समितिका संयोजक एवम् उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको नीति प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा लेखा परीक्षण प्रतिवेदन पेस हुने र यसमाथि समूहगत रूपमा छलफल हुने जानकारी दिनुभयो ।

ललितपुरको गोदावरीमा फागुन ७ देखि १० गतेसम्म सञ्चालन हुने महासमिति बैठकको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नु रहेको उहाँको भनाइ छ ।

उहाँले तराई, मधेश, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरिने र चार वटा हलमा छुट्टा–छुट्टै रूपमा प्रतिवेदनमाथि छलफल हुने बताउनुभयो ।

बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय ६५, प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्य समितिका सभापति, जिल्ला कार्य समितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरू आमन्त्रित सदस्यका रूपमा सहभागी हुने उहाँले बताउनुभयो ।