• १३ असोज २०८१, आइतबार

पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व

blog

म्याराथन उपाधि विजेता खेलाडी । तस्बिर : गोरखापत्र

रमेश पौडेल/फडिन्द्र अधिकारी

पोखरा/लेखनाथ, फागुन ५ गते । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधिमा केन्याली धावकले वर्चस्व कायम गरेका छन् । पोखरा रङ्गशालाबाट शनिबार बिहान सुरु भएको १८औँ संस्करणको यो म्याराथनमा जुलियस मरुयाली वाहोम पहिलो हुनुभयो । 

इसाक किहारा कामिरी दोस्रो र एड्विन किप्लागड तेस्रो बन्नुभयो । उहाँहरू तीनै जना केन्याली धावक हुनुहुन्छ । प्रतियोगितामा चौथो धिरनसिंह बोगटी बन्नुभयो । म्याराथनका विजेता बहोमले पाँच लाख, दोस्रो कामिरीले तीन लाख, तेस्रो हुँदै किप्लागडले दुई लाख तथा सान्त्वना बोगटीले ३० हजार रुपियाँ पुरस्कार पाउनुभएको छ । 

निर्वारित दुरी वाहोमले दुई घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गर्नुभएको थियो । यस्तै, कमिरीले दुई घण्टा २० मिनेट पाँच सेकेन्ड र किप्लागडले दुई घण्टा २४ मिनेट दुई सेकेन्डमा दूरी पार गर्नुभएको थियो । नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको म्याराथन ४२.१९५ किमीमा एक सय ९८ जना प्रतियोगी सहभागी थिए । 

हाफ म्याराथन महिलातर्फ सन्तोषी श्रेष्ठ पहिलो हुँदा केन्याली धावक अविचल जेरोप दोस्रो हुनुभयो । राममाया बुढा तेस्रो हुँदा पुष्पा भण्डारी चौथो ठहरिनुभयो । श्रेष्ठले एक लाख ५० हजार, दोस्रो बन्नुभएकी जेरोपले एक लाख, तेस्रो बुढाले ७५ हजार र सान्त्वना हुने भण्डारीले १५ हजार रुपियाँसहित प्रमात्रपात्र पाउनुभएको छ । यो इमेन्टमा १७ जना सहभागी थिए । 

म्याराथनको १० किमी पुरुषतर्फका सबै पुरस्कार विभागीय नेपाली सेनाका धावकहरूले जित्नुभएको छ । प्रतियोगितामा टङ्कबहादुर कार्की, सुवास कार्की र सञ्जीव नेपाली क्रमशः पहिलो, दोस्रो र तेस्रो बन्नुभयो । सोही दूरीमा महिलातर्फ आशा रावत पहिलो, सीमा चौधरी दोस्रो र नम्रता गुरुङ तेस्रो बन्नुभएको छ । 

दुवै इभेन्टका विजेताले क्रमशः ३० हजार, २० हजार र १५ हजार पाउनुभएको छ । १० किमी पुरुषमा एक सय २९ जना, सोही दूरीको महिलामा २९ जना सहभागी थिए । गण्डकी प्रदेशका धावकमध्ये सफल लामा प्रथम बन्दै ५० हजार, देवप्रसाद जलारीले दोस्रो हुँदै ३० हजार पाउँदा मनोज अधिकारीले तेस्रो हुँदै २० हजार र प्रमाणपत्र पाउनुभयो । पाँच किमी भेट्रान पुरुषमा कपिल भट्ट, आइलाल शाही र निमबहादुर थापा क्रमशः पहिलो, दोस्रो र तेस्रो बन्नुभयो । 

सोही दूरीको भेट्रान महिलातर्फ चित्रा गुरुङ पहिलो, विष्णुकुमारी गुरुङ दोस्रो र चेतमाया पङ्गेनी तेस्रो बन्नुभयो । पाँच किमी भेट्रान महिला÷पुरुष दुवैतर्फका विजेताले समान १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ पाउनुभएको छ । पाँच किमी भेट्रान पुरुषमा १९ जना सोही इभेन्टमा महिलातर्फ १० जना सहभागी थिए ।

पाँच किमी छात्रतर्फ तेन्जन रोकामगर, प्रकाश थिङ र ईश्वर ढकाल क्रमशः पहिलो, दोस्रो र तेस्रो बन्नुभयो । सोही दूरीमा छात्रातर्फ नारायणी भण्डारी प्रथम हुँदा गीता श्रेष्ठ द्वितीय र एन्जिला जिटी तेस्रो बन्नुभयो । 

पाँच किमी छात्र/छात्रा दौडका विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपियाँ पाउनुभएको छ । पाँच किमी ब्वाइजमा नौ सय ९० जना र सोही दूरीको छात्रामा चार सय ८६ जना सहभागी हुनुभयो ।

विभिन्न इभेन्टमा नेपालसहित विदेशी १३ देशका ५० धावक सहभागी हुनुभएको छ । रमाइलोका लागि आयोजना हुने ‘रन फर फन’मा करिब १० हजार सहभागी भएको आयोजक मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अनुमान छ । नेपालसहित बङ्गलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, पोल्याण्ड, साउदी अरेबिया, ताइवान, युके र अमेरिकाका धावक यसमा सहभागी बने । 

यसपटक परिवर्तन गरिएको रुटमा धावक दौडिएका छन् । प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि रन फर फनबाहेका सबै इभेन्टमा चिप्स प्रयोग गरिएको छ । शनिबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याराथन सुरुआत गर्नुभएको थियो । 

रन फर फनमा मुख्यमन्त्री पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्य लगायत दौडिनु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालगायतका विशिष्ट व्यक्तित्वसमेत १० किमी दौडमा प्रतियोगी हुनुहुन्थ्यो ।