दोलखा समाचारदाता
दोलखा, फागुन ५ गते । दोलखाको भीमेश्वर नगरपालिकाले नगर समृद्धिका लागि अघि सारेको एक वडा एक पार्क कार्यव्रmम अन्तर्गत निर्माण भएका दर्जनौँ पार्क प्रयोगविहीन बनेका छन् । ९ वडामध्ये सात वडामा निर्माण भएका करिब २१ करोड रुपियाँ लागतका पार्कहरू प्रयोगविहीन बने भने दुई वडामा पार्क छनोट हुन नसकेको बताइएको छ ।
नगरका इन्जिनियर सुरेश राउतका अनुसार थामीको बाहुल्य रहेको वडा नम्बर १ मा २५ लाख रुपियाँको लागतमा थामी सङ्ग्रहालय निर्माण भइरहेको छ । वडा नम्बर २ मा ५० लाख रुपियाँको लागतमा मञ्जुश्री पार्क र एक करोड १० लाख रुपियाँको लागतमा निर्मित चम्पूजा हरियाली पार्क प्रयोगविहीन बनेका छन् । त्यसै गरी वडा नम्बर ३ मा १७ करोडको लगानीमा खेलमैदान निर्माण भएको छ । वडा नम्बर ४ मा १५ लाख रुपियाँको लागतमा वृन्दावन पार्क निर्माण भएको छ । खेल मैदानबाहेक अरू सबै प्रयोगविहीन छन् ।
वडा नम्बर ५ मा १० लाख रुपियाँको लागतमा बनेको मयूर पार्क प्रयोगविहीन बनेको छ भने विज्ञान पार्कका लागि सुरु भएको सर्भे थन्किएको उहाँले बताउनुभयो ।
त्यस्तै वडा नम्बर ६ मा एक करोड १५ लाख रुपियाँको लागतमा निर्मित दर्शनटुप्पो र विश्वशान्ति बुद्ध पार्क पनि प्रयोगविहीन छन् । इन्जिनियर राउतले भन्नुभयो, “वडा नम्बर ९ मा १० लाख रुपियाँको लागतको शिवपोखरी र सात लाख रुपियाँ लागतको लालीगुराँस पार्कको पनि यस्तै हालत छ ।”