सुर्खेत समाचारदाता
सुर्खेत, फागुन ५ गते । कुरा र विचारका माध्यमबाट कर्णालीको कला, संस्कृति, सम्भावन र स्रोतलाई देश तथा विदेशमा चिनाउन चार वर्षदेखि कर्णाली उत्सवका रूपमा ‘कुडा कर्णालीका’ गरिँदै आएको छ । ‘कुडा कर्णालीका’ को पाँचौँ संस्करण शनिबारदेखि सुर्खेतको बुलबुले उद्यानमा सञ्चालन हुँदै छ ।
कुनै पनि योजना तथा काम गर्न सबैभन्दा पहिला कुरा र विचार आवश्यक पर्ने भएकाले नीतिनिर्मातालाई सहजीकरण गर्न कर्णाली उत्सवका माध्यमबाट कर्णालीको विकास र सम्भावनाबारे चर्चा गरिँदै आएको छ । आयोजक संस्था ऋति फाउन्डेसनका संयोजक कमलराज लम्सालका अनुसार ‘कुडा कर्णालीका’ को माध्यमबाट कर्णालीमा कुरा र विचारको बिउ रोपिएको छ ।
उहाँले विगतमा कर्णालीको कुरा नै सुन्नुपर्ने निकायले नसुन्दा कर्णाली सधैँ छायामा परेको हुँदा आफूहरूले कर्णाली उत्सव आयोजना गरी ‘कुडा कर्णालीका’ शृङ्खलाबाट कुरा र विचार राख्ने, सुन्ने तथा सुनाउने संस्कृतिको चलन बसालेको बताउनुभयो । उहाँका अनुसार उत्सवका माध्यमबाट अहिले कर्णाली देशविदेशमा सुनिएको छ । राज्यले बजेटलगायत योजनामा बढी प्राथमिकता दिने गरेको छ । अझै पनि यसको आवश्यकता रहेकाले बर्सेनि कर्णाली उत्सव आयोजना गरिँदै आएको जनाइएको छ ।
कर्णाली उत्सवमा कला, संस्कृति, भाषा, सभ्यता, पर्यटन, विकास, राजनीतिलगायत हरेक क्षेत्रका बारेमा कर्णालीकै तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञलाई ल्याएर सुन्ने र सुनाउने गरिएको संयोजक लम्सालले जानकारी दिनुभयो । बर्सेनि कुरा गरेर के हुन्छ भन्ने जस्ता प्रश्नको जवाफ दिँदै संयोजक लम्सालले भन्नुभयो, “यही कुरा र विचारको माध्यमबाट कर्णाली बनाउने र कर्णालीलाई चिनाउने योजना बन्ने छ ।”
मुलुक सङ्घीयतामा गएपछि कर्णाली उत्सवका माध्यमबाट विचारको पनि विकेन्द्रीकरण भएको छ । विज्ञ र नीतिनिर्माताको रोजाइ कर्णाली भएको छ । कर्णालीमै आफ्नो अमूल्य योगदान दिने हिरोको खोजी भएको छ । बौद्धिकता आदानप्रदान भएको छ ।
उहाँले काठमाडौँ र पोखरामा मात्रै हुने छलफल र बहस कर्णालीमा हुन सुरु गरेको चर्चा गर्दै समग्र कर्णालीलाई चिन्न र चिनाउन कर्णाली उत्सव आयोजना गरिएको बताउनुभयो ।
कर्णाली उत्सवका ‘कन्टेन’ संयोजक प्रकाश लामिछानेले कर्णाली उत्सवमा कर्णालीको भूगोल जानेको, कर्णालीप्रति प्रेम गरेको, कर्णालीलाई रोलमोडेल मानेर योगदान दिएकालाई विज्ञका रूपमा ल्याउने गरिएको बताउनुभयो । उहाँका अनुसार उत्सवमा आएर गरेका प्रतिबद्धता कार्यान्वयन भए कि भएनन् भनेर पनि आगामी दिनमा निगरानी गरिने भएकाले यसले विकास र कार्ययोजनाको प्रारूप पनि कोरेको छ ।
रकम कति बर्सेनि आयोजना गरिने कर्णाली उत्सवको खर्च पनि बढ्दै गएको छ । स्थानीय तह, प्रदेश सरकार, निजी क्षेत्र तथा विकास साझेदारबाट यसको खर्च व्यवस्थापन गर्ने गरिएको छ । २०७६ सालदेखि सुरु भएको कर्णाली उत्सवको पहिलो संस्करणमा २३ लाख १७ हजार रुपियाँभन्दा बढी खर्च भएको थियो । उत्सवको आयोजक ऋषि फाउन्डेसनको तथ्याङ्क अनुसार पहिलो संस्करणमा सामाजिक विकास मन्त्रालयबाट सात लाख ४४ हजार र स्थानीय तहबाट चार लाखसहित अन्य रकम निजी क्षेत्र र विकास साझेदारबाट व्यवस्थापन गरिएको उल्लेख छ ।
विसं २०७७ को दोस्रो संस्करणमा ३६ लाख ३८ हजार २३५ रुपियाँ महोत्सवमा खर्च भएको थियो । यसमा प्रदेश सरकारबाट १३ लाख ८५ हजार र स्थानीय तहबाट तीन लाख ८७ हजार प्राप्त भएको जनाइएको छ । २०७८ सालको तेस्रो संस्करणमा ४० लाख ४५ हजार २६४ रुपियाँ खर्च भएको थियो । यसमा प्रदेश सरकारबाट १७ लाख र स्थानीय तहबाट दुई लाख रुपियाँभन्दा बढी सङ्कलन भएको जनाइएको छ । २०७९ सालको चौथो संस्करणमा ५१ लाख १० हजार रुपियाँभन्दा बढी खर्च भएको थियो । यसमा प्रदेश सरकारबाट सहयोग प्राप्त नभएको जनाइएको छ ।
शनिबारदेखि सुरु हुने ‘कुडा कर्णालीका’ उत्सवको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गर्ने कार्यक्रम रहेको जनाइएको छ । बुलबुले उद्यानमा सुरु पहिलो दिनमा इपिसेन्टर, पैकेलो, सङ्कट र सेवा, जोखिम र जुइन्या जुक्ति तथा कर्णाली कन्सर्ट साङ्गीतिक साँझ हुने जनाइएको छ ।