• १३ साउन २०८१, आइतबार

कामै नगरी रकम भुक्तानी

blog

कालीकोट समाचारदाता 

कालीकोट, फागुन ५ गते । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एकपछि अर्को आर्थिक अनियमितता सार्वजनिक भएका छन् । आयोजनाको कामै नगरी गाउँपालिकाले २९ लाख रुपियाँभन्दा बढी रकम वडा सचिवमार्फत भुक्तानी गरेको देखिएको छ । 

दुई करोड ५० लाख रुपियाँको खाना र खाजा खाएको नरहरिनाथ गाउँपालिकाको अर्को अनियमितता देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कामै नगरी नौ वटै वडा सचिवका नाममा गाउँपालिकाले विभिन्न ३८ वटा आयोजनाको भुक्तानी दिएको देखिएको छ । विभिन्न आयोजना मर्मतका नाममा गाउँपालिकाका नौ वडाका वडा सचिव तथा गाउँपालिकाका कर्मचारीका नाममा २९ लाख ३९ हजार ३० रुपियाँ भुक्तानी गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

खानेपानी मर्मत, घोरेटो बाटो मर्मत र केही नयाँ आयोजनाका नाममा वडासचिवको खातामा २९ लाख ३९ हजार ३० रुपियाँ भुक्तानी दिएर कामै नगरी सो रकम खर्च गरेको पाइएको छ । नरहरिनाथ गाउँपालिका–१ को वीरखम्म प्रतीक्षालय निर्माणका नाममा वडा सचिव उदयराम विष्टका नाममा दुई लाख ७२ हजार १४८ रुपियाँ भुक्तानी गरेको भए पनि ५४ हजार रुपियाँ मात्रै रकम पाएको स्थानीय उपभोक्ता समितिले जनाएको छ । प्रतीक्षालय निर्माणका लागि वडामा ६० हजार रुपियाँ आए पनि वडाले परामर्श सेवाका लागि रकम कटौती गरी उपभोक्ता समितिलाई ५४ हजार नगद दिएको उपभोक्ता समितिका एक सदस्यले जानकारी दिनुभयो । 

श्रमिकलाई दैनिक ज्याला ३२० रुपियाँ मात्रै दिइएको थियो । प्रतीक्षालय निर्माण गर्दा जनश्रमदान र चन्दा उठाइएको बताइन्छ । अहिले महालेखाको प्रतिवेदनमा दुई लाख ७२ हजार १४८ रुपियाँको भुक्तानी सचिवका नाममा भएको देखाएको छ । त्यस्तै टोप्रा भेराभिर घोडेटो बाटो मर्मतका नाममा वडा नं. ५ का सचिव पर्वबहादुर सहकारीका नाममा ९५ हजार रुपियाँ भुक्तानी भएको देखिएको छ । त्यो बाटो भने मर्मत नै नभएको एक पूर्ववडा सदस्यले बताउनुभयो । 

तत्कालीन वडाध्यक्ष मानबहादुर सहकारीले कुनै रकम भुक्तानी नभएको दाबी गर्नुभयो । त्यसरी रकम गएको भए आफू कानुन अनुसार सजाय भोग्न तयार रहेको उहाँको भनाइ छ । अहिले नरहरिनाथ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, नौ जना वडाध्यक्षसहित २२ जना काठमाडौँ पुगेर महालेखाको प्रतिवेदन सच्चाउन अनुरोधसमेत गरेको बताइन्छ । गाउँपालिकाले भने महालेखाले टाइपिङ गर्दा गल्ती गरेको भनेर नागरिकलाई बताउन थालेको छ । 

नरहरिनाथ गाउँपालिकाका सूचना अधिकारी भरतकुमार कठायतले भुक्तानी सबै लाभग्राहीलाई भइसकेको र भर्पाई राखेकाले खर्च मिलान गर्ने जिकिर गर्नुभयो । उहाँले वडा सचिवले पुलको रूपमा काम मात्र गरेकाले सबै रकम भुक्तानी भइसकेको उहाँको भनाइ छ ।