• १३ मंसिर २०८१, बिहिबार

लिपिङ खोला जलविद्युतको काम पचासी प्रतिशत सम्पन्न

blog

चित्र मिजार

सिन्धुपाल्चोक, फागुन ५ गते । लिपिङ खोला १६.२६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको ८५ प्रतिशत निर्माण सम्पन्न भएको छ । सुरुङ बाँध, पाइपलाइन र पावरहाउसको काम ८५ प्रतिशत सम्पन्न भएको हो । हिम रिभर हाइड्रोपावर कम्पनी लिमिटेड प्रवर्धक रहेको उक्त आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

आयोजनाका कार्यकारी निर्देशक सुदीपकुमार चौधरीले निर्माण कार्य सुरु भएको दुई वर्षभित्र नै आयोजनाको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । दुई वर्ष एक महिनाअघि उक्त आयोजनाको काम सुरु भएको थियो । यही गतिमा निर्माण भइरहेमा आगामी २०८१ जेठ महिनाभित्र उत्पादन सुरु हुने उहाँको भनाइ छ । भोटेकोशीवासी र स्थानीय प्रभावितले यसरी नै साथ दिएमा तोकिएको समयमा उत्पादन हुने चौधरी बताउनुहुन्छ ।

प्रसारण लाइनको काम पनि आउने वैशाखभित्र सक्ने लक्ष्य लिएको छ । कार्यकारी निर्देशक चौधरीका अनुसार नयाँ वर्षदेखि नै जिल्लाबाट १६.२६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । हिउँद महिनामा ३० प्रतिशत विद्युत् उत्पादन घट्न सक्ने सो आयोजनाको अनुमान रहेको छ । लिपिङ खोलाबाट उत्पादन भएको विद्युत्मध्ये भोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएर बाह्रबिसे नगरपालिका–४, बेतेमा निर्माणाधीन सबस्टेसनमा पुग्ने छ । आयोजनाको लागत तीन अर्ब ४० करोड रुपियाँभन्दा बढी रहेको आयोजनाले जनाएको छ ।