• १३ मंसिर २०८१, बिहिबार

हात्तीमैत्री वातावरण निर्माण गर्न ४ बुँदे घोषणापत्र

blog

छलफलमा हात्ती प्रभावित क्षेत्रका पालिकाका प्रमुख तथा अध्यक्षहरु ।

विष्णुप्रसाद पोखरेल

दमक, फागुन ४ गते । हात्तीमैत्री वातावरण निर्माण गर्न तथा वन क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न स्थानीय तहको समन्वयमा प्रदेश सरकार, सङ्घीय सरकार समेतलाई ध्यानार्षण गराउने लगायतका ४ बुँदे संयुक्त घोषणापत्र जारी गरिएको छ । झापाको हात्ती प्रभावित पालिकाहरुका प्रमुख तथा प्रदेश सभा सदस्यहरुको छलफलले सो घोषणापत्र जारी गरेको हो । 

भद्रपुर नगरपालिकामा नगरपालिका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको छलफलपछि ४ बुँदे घोषणापत्र जारी गरेको हो । डिभिजन वन कार्यालय, स्थानीय तह फेन्सिङ् तार मर्मत समितिको सहकार्यमा फेन्सिङ् तार मर्मत सम्भारको व्यवस्था मिलाउने साथै फेन्सिङ् तार स्थानीय तहलाई हस्तान्तरण गर्ने कार्य डिभिजन वन कार्यालयमार्फत गर्ने र विस्तार कार्यको लागि पहल गर्ने, पहिलो घोषणामा उल्लेख छ ।

यसैगरी सामुदायिक वन समितिको समन्वयमा स्थानीय तहको सहभागितामा सामुदायिक स्तरमा ‘रेपिड रेस्पोन्स टिम’ तयार गर्ने, दोश्रो घोषणामा छ । यसले हात्तीको विषयमा जानकारी लिएर आम समुदायमा जानकारी गराउने छ । हात्तीलाई सुरक्षित स्थलसम्म पुर्याउन सहयोग र समन्वय गर्न यस्तो टिम बनाउन आवश्यक भएकोले निर्णय लिईएको भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले जनाउनुभयो ।

हात्ती मैत्री वातावरण निर्माण गर्न वन क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न स्थानीय तहको समन्वयमा प्रदेश सरकार, सङ्घीय सरकार समेतलाई ध्यानार्षण गराउन आवश्यक पहल गर्ने, अर्को बुँदामा छ । पछिल्लो समयमा जिल्लाको प्रमुख समस्याको रुपमा हात्तीको उपद्रो र क्षति रहेकाले समस्या सामधानका लागि तीन तहको नै सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

हात्ती प्रभावित तथा पीडितहरुलाई क्षतिपूर्ति प्रदान गर्ने कार्यलाई छिटो–छरितो गरान सम्बन्धित निकायलाई आवश्यक पहल गर्ने र एकद्वार प्रणालीको व्यवस्था मिलाउने उक्त छलफलले घोषणा गरेको छ । घर भत्काइएका हात्ती पीडितहरुले तत्कालै क्षतिपूर्ति नपाउँदा बस्नका लागि वैकल्पिक व्यवस्थापन गर्न समस्या भोग्दै आएका छन् ।

छलफलमा प्रदेश सभा सदस्य छविलाल चुडाल, कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी, हल्दिवारी गाउँपालिकाका प्रमुख रविन्द्रप्रसाद लिङ्देन, भद्रपुर नगर उप–प्रमुख राधा कार्कीलगायत हात्ती प्रभावित क्षेत्रका वडाध्यक्षसहित सरोकारवालाको उपस्थिति थियो ।