• ४ जेठ २०८१, शुक्रबार

नेपालगन्जका सार्वजनिक शौचालयहरूलाई व्यवस्थित गरिने

blog

नेपालगन्ज उपमहानगरपालिका कार्यालय नेपालगन्ज । तस्बिर: सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन ४ गते । नेपालगन्ज उपमहानगरपालिकाभित्र निर्माण गरिएका सार्वजनिक शौचालयहरूको सही व्यवस्थापन नहुँदा केही सङ्ख्यामा बन्द भइसकेका छन् भने अधिकांश फोहोर र जीर्ण भई काम नलाग्ने हुन थालेका छन् । 

सोही कारणले ती शौचालयहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि जनप्रतिनिधि र कर्मचारीहरूबिच छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले एसएनभी नेपालको आयोजनामा उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूबिच सार्वजनिक शौचालयलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने सम्बन्धमा छलफल गरिएको बताउनुभयो । 

उहाँले छलफलमा सार्वजनिक शौचालयको प्रयोगलाई व्यवस्थित बनाउँदै सरसफाइ, मर्मत–सम्भारलगायतका विषयमा विशेष ध्यान दिन आवश्यक रहेको कुरामा जोड दिइएको बताउनुभयो । 

प्रवक्ता रिजालले आकर्षक सार्वजनिक शौचालय निर्माण गरिने तर, आवश्यक व्यवस्थापन र रेखदेखको अभावमा जीर्ण बन्दै जाने समस्याको समाधानका लागि छलफलमा सहभागी सबै गम्भीर देखिएको बताउनुभयो ।  सो छलफलमा सार्वजनिक शौचालयको सही व्यवस्थापनका लागि कार्य योजना बनाएर अगाडी बढ्ने निष्कर्ष निकालिएको थियो । 

नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा एसएनभी नेपालले उपमहानगरभित्रका दुईवटा जीर्ण शौचालयलाई पुनः निर्माण गरेको छ । भेरी अस्पताल र मासुमण्डीको छेउमा रहेका दुई वटा सुलभ सार्वजनिक शौचालयको पुनः निर्माण एसएनभी नेपालले गरेको हो । 

१८ लाख रुपियाँको लागतमा ती शौचालयको पुनः निर्माण गरिएको एसएनभी नेपालले जनाएको छ । भेरी अस्पतालको छेउमा रहेको शौचालयमा स्नानगृहको पनि व्यवस्था गरिएको छ । शौचालयलाई अपाङ्गमैत्री बनाइएको छ ।

सो छलफलमा  नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता रिजाल, विपद् तथा वातावरण समिति संयोजक समीरप्रताप सिंह, भौतिक पूर्वाधार समिति संयोजक वसन्त कनोजिया, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।