• ४ जेठ २०८१, शुक्रबार

दोजाममा ल्याइयो चौँरी

blog

हुम्ला समाचारदाता

हुम्ला, फागुन ४ गते । उच्च हिमाली क्षेत्रमा पालन हुने चौँरीगाई सिमकोट गाउँपालिका–१ को दोजाम गाउँमा ल्याइएका छन् । हिमपात कम भए पनि यस वर्ष चिसो निकै बढेका कारण ती चौँरीगाईलाई पालनकै लागि उक्त गाउँमा ल्याइएको हो । 

दोजाम गाउँका स्थानीय स्याम्जोर लामाले हिउँदमा चार हजार पाँच मिटर उचाइमा रहने चौँरीगाई यतिबेला दुई हजार चार सय मिटरको उचाइमा झारिएको बताउनुभयो ।

चिसो निकै बढेका कारण उच्च क्षेत्रबाट चौँरीगाईलाई होचा क्षेत्रमा झारिएको उहाँले बताउनुभयो । अघिल्लो वर्षमा हिमपात बढी हुने भए पनि चिसो कमै हुने गरेको तर यस वर्ष हिमपात कम तर चिसो निकै बढेका कारण चौँरीलाई तल झार्नु परेको हो । 

गाउँमा चौँरी ल्याएपछि किसानलाई चरन र गोठको व्यवस्था गर्न समस्या भएको छ । चौँरी गोठमा राख्दा गर्मी हुने भएकाले खुला ठाउँमा राख्नु परेको छ । यतिबेला ४३ वटा चौँरीगाई दोजाम गाउँमा झारिएको छ । तीमध्ये १५ वटा चौँरी दुहुना रहेका छन् । तिनलाई हेर्न मानिसको लाइन लाग्ने गरेको छ । 

चौँरी दुधबाट दही, मही, घिउ पार्ने कार्य पनि पहिलो पटक गाउँमा हुन थालेको छ । उहाँले अझै एक महिनाभन्दा बढी समय गाउँमै चौँरीपालनका लागि रहने बताउनुभयो ।