• ९ जेठ २०८१, बुधबार

गोली प्रहार गरी महिला प्रहरीको हत्या

blog

लीलाधर वली

घोराही, फागुन ३ गते । दाङमा गोली प्रहारबाट एक जना महिला प्रहरीको हत्या गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापालाई उहाँका श्रीमान यमबहादुर झाक्री मगरले गोली प्रहार गरेर हत्या गरेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुवेदीले भन्नुभयो, ‘गोली प्रहरबाट महिला प्रहरीको मृत्यु भएको जानकारी आएको छ ।’ श्रीमान यमबहादुरले घोराही उपमहानगरपालिका १५ दामोदर चोकमा डिउटीमा रहनुभएकी श्रीमतीलाई गोली प्रहार गरेर हत्या गरेको खुलेको उहाँले बताउनुभयो । 

गोली प्रहारबाट गम्भीर घाइते धनमायाको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । हत्या गर्ने श्रीमान नेपाल प्रहरीको नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत रहेको प्रहरीले जनाएको छ । हत्यापछि फरार रहेका झाक्री मगरलाई प्रहरीले देउखुरीको अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।