• ९ जेठ २०८१, बुधबार

ह्विलचेयर वितरण गर्दै भूपू सैनिक सम्मेलन सम्पन्न

blog

दीप प्रज्ज्वलन गरी सम्मेलन उद्घाटन गर्नुहुदै वाहिनीपति सहायक रथी रामकाजी थापा । तस्विर : कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, फागुन ३ गते । नेपाली सेनाको श्री नं. २ बाहिनी अड्डा हिले ब्यारेक, धनकुटाको भूतपूर्व सैनिक सम्मेलन २०८० सम्पन्न भएको छ । सम्मेलनमा फरक क्षमता भएका भूपू सैनिकलाई ह्विलचेयर वितरण गरिएको छ । 

श्री नं. २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी रामकाजी थापाको प्रमुख आतिथ्यतामा  दीप प्रज्ज्वलन गरी उदघाटन भएको सम्मेलनमा भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटा गरी चार जिल्लाका भूतपूर्व सैनिकमध्ये ६१५ जना भूपू सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो । 

सम्मेलनको अवसर पारेर फरक क्षमता भएका तथा अशक्त भूपू सैनिक कालीध्वज गणका भूपू सैनिक जमनिरबहादुर वस्नेत, रणभीम गणका सिपाही यज्ञबहादुर आचार्य, देविदल गणका प्युठ निरबहादुर मगर, जगदल गणका मनकुमार लिम्बुलगायतलाई ह्विलचेयर हस्तान्तरण गरिएको छ । 

भूतपूर्व सैनिक सम्मेलनको अभिलासा सेनाप्रतिको समर्पण र भरोसा नारासाथ पूर्वी पृतना हेडक्वाटर मुख्य केन्द्र अन्तर्गत नं. २ वाहिनी अड्डा हिले ब्यारेक, धनकुटा उपकेन्द्रमा सम्पन्न सम्मेलनमा सहभागी भूपू सैनिक तथा परिवारजनलाई लाइभ टेलिकाष्टबाट प्रधानसेनापति प्रभुराम शर्माले सम्बोधन गर्नुभएको भीमदल गण सल्लेरी ब्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापाले जानकारी दिनुभयो । 

वाहिनीपति सहायक रथी रामकाजी थापाले नेपाली सेनाबाट अवकाश प्राप्त हिताधिकारीहरु नेपाली सेनाको पहिलो रक्षाकवच र समाजसँग जोडिने सेतुको रुपमा रहँदैआएको बताउनुभयो ।

नेपाली सेनाले सैनिक सेवामा रहँदा सिकेका तथा प्रदर्शन गरेका ज्ञान सिपलाई अवकाशपछि पनि समाजमा प्रदर्शन गर्ने अनुशासन र सेवाभावले समग्र नेपाली सेनाको छविलाई निर्धारण गर्ने हुँदा नेपाली सेनाले अवकाशपश्चात पनि सकल दर्जाको जीवनयापन सम्मानपूर्वक विताउन, अपेक्षा पहिचानलगायतका काम गर्न नेपाली सेनाले २०७० सालबाट भूपू सैनिक सम्मेलनको आयोजना गर्दैआएको वाहिनी पति सहायक रथी थापाले बताउनुभयो । 


नेपाली सेनाप्रति विश्वास र भरोसा जगाउने उद्देश्यसाथ सम्पन्न सम्मेलनले अवकाश प्राप्त सैनिकको अवकाश पछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुको साथै समाजमा सम्मानित जीवनयापन गर्दै सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास लिइएको छ ।

सम्मेलनमा तामाङसेलो, लाखे, छलिया नृत्य, केलाङ्ग नृत्यलगायतका सांस्कृतिक कार्यक्रम, ज्येष्ठ भूपू सैनिक तथा एकल महिलालाई सम्मान, बैसाखी प्रदान गरिएको थियो । सो अवसरमा सैनिक मेडिकल टिमले स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्योपचार सेवा प्रदान गरेको थियो ।