• १३ साउन २०८१, आइतबार

कांग्रेस केन्द्रीय समितिमा चार वटा प्रस्ताव पेस : शुक्रबारदेखि छलफल

blog

पार्टी केन्द्रीय कार्यालय ललितपुर, सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी नेताहरू । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन ३ गते। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा चार वटा प्रस्ताव पेस भएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा सरकारको आर्थिक अवस्थाबारे जानकारी गराइएको हो। साथै पार्टीको राजनीतिक प्रतिवेदन, पार्टीको सुगठनसम्बन्धी प्रस्ताव र समग्र नीति सम्बन्धी प्रस्ताव पेस गरिएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।

बैठकमा सरकारको तर्फबाट आफूले आर्थिक अवस्था, भावी योजनाबारे प्रस्ताव पेस गरेको र पार्टीको तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सुगठनसम्बन्धी प्रस्ताव र उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले समग्र नीतिका विषयमा प्रस्ताव पेस गरेको बताउनुभयो।

उहाँले आजको बैठकमा प्रस्ताव मात्रै पेस हुने र शुक्रबारबाट प्रस्तावमाथि छलफल हुने बताउनुभयो।अर्थमन्त्री महतले छलफल सकिएपछिको निष्कर्षसहित महासमिति बैठकमा परिमार्जनसहितका प्रस्ताव लैजाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हाम्रो केन्द्रीय समितिको बैठक बस्दैछ।आज केही प्रस्ताव पेस भएका छन्।मैले सरकारको तर्फबाट आर्थिक स्थिति के छ, के गरिरहेको छ, भोलिको दिनमा के गर्ने भन्नेकुरामा सरकारको तर्फबाट आफ्ना कुरा राख्यौँ।विश्वप्रकाशजीले राजनीतिक विषयमा पार्टीको तर्फबाट लिखित प्रस्ताव पेस गर्नुभयो।सुगठनसम्बन्धी प्रस्ताव पार्टीका अर्का महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको छ।समग्र नीतिका विषयमा उपसभापतिले प्रस्ताव केन्द्रीय समितिको बैठकमा छलफलका लागि प्रस्तुत गर्नुहुनेछ।आज चार वटा प्रस्ताव भएका छन्।भोलि यसमा छलफल हुनेछन्।समग्र छलफल सकिएपछि महासमितिमा प्रस्तावको लागि लैजानको लागि परिमार्जनसहित महासमिति बैठकमा जान्छ ।’’

नेता महतले केही जिल्लामा महासमिति सदस्य निर्वाचनमा केही सीमित ठाउँमा विवाद आएकाले अहिले निर्वाचन समितिले अध्ययन गरिरहेको बताउनुभयो।