• १६ वैशाख २०८१, आइतबार

विश्वकप क्रिकेट लिग–२ : नेपालको कमजोर सुरुवात

blog

विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन ३ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिदेशीय सिरिज पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जितका लागि नेपालले दिएको एक सय ३३ रनकाे लक्ष्य पछ्याएको नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नामिबियाका लागि जान फ्रेलिङ्कले ३४ रन बनाउनुभयो । जान निकोलले ३१, माइकल भान लिङ्गेनले २३, जेजे स्मिथले १७ र निकोलस डाविनले १५ रन बनाउनुभयो । 


बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिनुभयो । ललित राजवंशीले दुई तथा रोहित पौडेलले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३२ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाएको हो । गुलशन झाले २१, करण केसीले १६ कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाउनुभयो । 


नेपाललाई सस्तैमा समेट्न बलिङमा नामिबियाका कप्तान जोर्रार्ड इरास्मसले पाँच विकेट लिनुभयो । रुबेन ट्रम्पलम्यान र ज्याक ब्रसिलले समान दुई तथा जान निकोल लोफ्टि इटनले एक विकेट लिनुभयो । नेपालले सिरजको दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।