• ११ मंसिर २०८१, मङ्गलबार

वराहक्षेत्रमा कविहरूको जमघट हुने

blog

बाबुराम कार्की 

वराहक्षेत्र, फागुन ३ गते । सुनसरीको वराहक्षेत्रमा पूर्व–मेचीदेखि महाकालीसम्मका कविहरूको जामघट हुनेभएको छ । वराहक्षेत्रमा स्थापित स्वर्णिम साहित्य समाजले ‘प्रज्ञा कविता उत्सव २०८० को आयोजना गरी कविहरूलाई एकै ठाउँमा भेला गर्न लागेको हो ।

स्वर्णिम साहित्य समाज वराहक्षेत्र–३ ले नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०८० मा उत्कृष्ट भएका दश कविलाई केन्द्रित गर्दै फागुन १२ गते चक्रघट्टीमा ‘प्रज्ञा कविता उत्सव’ गर्ने भएको समाजका अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिनुभयो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कार्यक्रम हुने आयोजकले जनाएको छ । साहित्यमा बामे सर्दैगरेको सुनसरीको उत्तरी ग्रामीण क्षेत्रमा आयोजना हुने ‘प्रज्ञा कविता उत्सव’ ले साहित्य क्षेत्रमा थप टेवा पुग्ने आयोजकले जनाएको छ । 

समाजले पाँच चरणको कार्यक्रमको ढाँचामा कविता उत्सव गर्ने भएको समाजका अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा उद्घाटनसत्रको सहजीकरण हुनेछ । दोस्रो चरणमा राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट दश कविहरू समीप वैरागी (रोल्पा), जीवन आरोही (उदयपुर), राधिका कल्पित (काठमाडाैँ), तीर्थ विश्वकर्मा (धरान, सुनसरी), नवीन अभिलाषी (नेपालगन्ज, बाँके), उमेश पुन (रुकुम), पुर्णान्द ओझा (डोटी), प्रकाश दिप्साली राई (सुनसरी), खिमानन्द जोशी (दार्चुला) र कृपा करुणा पोख्रेल (इनरुवा, सुनसरी) ले दुई–दुई वटा कविताको प्रस्तुति गर्ने हुनुभएको छ । 

यस्तै तेस्रो चरणमा अतिथि कविहरू रेखा सुवेदी, भीम विरही राई, रोशन परियार र विराट किरातीले कविता सुनाउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । चौथो चरणमा स्थानीय सर्जक र सिर्जना अन्तर्गत लक्ष्मण कटुवाल, सविता फागो, वर्षा भण्डारी, ज्ञानु राई र राजन इशारा राईले गजल तथा कविता प्रस्तुत गर्ने बताइएको छ । पाँचौँ चरणको कार्यक्रम अन्तर्गत वाचन भएका कविताहरू माथि कवि मनु मन्जिल र प्राज्ञ राजन मुकारुङले प्रकाश पार्नुहुने भएको छ । 

वराहक्षेत्र नगरपालिका र नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँको सहयोगमा कार्यक्रम हुने भएको संयोजक छबिना लुङ्गेली मगरले बताउनुभयो । स्वर्णिम साहित्य समाज डेढ दशकदेखि वराहक्षेत्रको साहित्य र सिर्जनाको उन्नयनमा निरन्तर समर्पित रहँदैआएको छ ।