• २१ वैशाख २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन बिहीबारदेखि

blog

केदार तिमल्सिना 

बनेपा, फागुन १ गते । काठमाडौँ विश्वविद्यालय (केयू)ले नेपालको शैक्षिक इतिहासमा पहिलो पटक विश्वविद्यालयका ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’ को आयोजना गरेको छ । केयूले आगामी बिहीबारदेखि शनिवारसम्म धुलिखेलमा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन आयोजना गरेको विश्वविद्यालयले जनाएको छ । 

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको सम्बन्ध स्थापित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनको आयोजना गरेको बताउनुभयो । उहाँले भारतीय विश्वविद्यालय सङ्घको आयोजना तथा काठमाडौँ विश्वविद्यालयको तत्त्वावधानमा आयोजना गरिएको सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, मलेसिया, थाइल्यान्डलगायत १५० देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरूको उपस्थिति रहने बताउनुभयो । सम्मेलनमा विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुने उपकुलपति प्रा डा थापाले बताउनुभयो । सम्मेलनमा २२७ सहभागीहरू सहभागिता जनाउने निश्चित गरेको विश्वविद्यालयले जनाएको छ । सम्मेलनमा अधिकांश सहभागीहरू भारतीय विश्वविद्यालयबाट हुनेछन् भने दक्षिण पूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधि समेत सहभागी हुनेछन् ।

सम्मेलनमा उच्च शिक्षण संस्थामा भूमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरूको आदानप्रदानलाई प्रोत्साहित गर्ने, साझा सञ्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदान गर्ने विषयमा केन्द्रित हुने विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले बताउनुभयो । उहाँले सम्मेलनमा उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिहरूको बारेमा छलफल, विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान, र पाठ्यक्रम विकास सहितका विषयहरू समावेश हुने बताउनुभयो । सम्मेलनमा उच्च शिक्षामा अन्तर्राष्ट्रिय सहयोग र साझेदारी विषयमा विशेषज्ञहरूबाट अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री कार्यक्रम र प्राज्ञिक साझेदारीका फाइदा, उच्च शिक्षाको विश्वव्यापी नीति, नियमन तथा समान मानकको विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । यस्तै विद्यार्थी गतिशीलता र त्यसको विविधतामा अन्तर्राष्ट्रिय अनुभवका बारेमा विशेषज्ञहरूबाट कार्यपत्र तथा छलफल हुनेछ । 

सम्मेलनमा नेपाल चिनाउन विभिन्न जातजातिको सांस्कृतिक झाँकी, नेपाली सङ्गीत चिनाउन स्कुल अफ आर्ट्सका साथै कुटुम्ब ब्यान्डले नेपाली लोकबाजाको माध्यमबाट अन्तर्राष्ट्रिय उपकुलपतिहरूको स्वागतमा साङ्गीतिक प्रस्तुति दिनेछ भने नेपाल प्रहरीको सांस्कृतिक टोलीले नेपालको सातै प्रदेश, हिमाल, तराई, पहाडको नाचगान र संस्कृतिको बारेमा प्रस्तुति दिनेछ ।