• २२ वैशाख २०८१, शनिबार

अनिल र भीमको शतकसँगै सिरिजमा नेपालको ‘क्लिन स्विप’

blog

खुसी मनाउँदै नेपाली खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ २९ गते । अनिल शाह र भीम सार्कीले अविजित शतकीय इनिङ्स खेलेपछि क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा नेपालले  ‘क्लिन स्विप’ गरेको छ । तीन खेलको सिरिज नेपालले ३–० ले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडालाई नौ विकेटले हरायो ।

नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेल चार विकेटले विजयी भएको थियो । जितका लागि क्यानडाले दिएको दुई सय ३३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४३.३ ओभरमा एक विकेटको क्षतिमा दुई सय ३४ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।


नेपालका लागि ओपनर अनिल शाह र भीम सार्कीले सानदार शतकीय इनिङ्स खेल्नुभयो । अनिल र भीमले दोस्रो विकेटका लागि अविजित एक ८९ रनको साझेदारी गर्नुभयो । यो एक दिवसीय क्रिकेटमा नेपालका लागि उच्च साझेदारी समेत हो । यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध एक सय ७१ रनको साझेदारी गर्नुभएको थियो । 


यो पनि पढ्नुहोस

क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

अनिलको यो एक दिवसीयमा पहिलो अन्तर्राष्ट्रिय शतक हो । भीमको पनि यो खेल जीवनको पहिलो शतक हो । एक सय १२ रन बनाउनुभएका अनिलले एक सय २४ बलमा १२ चौका र दुई छक्का हान्नुभयो । यस्तै एक सय एक रन बनाउनुभएका भीमले एक सय २९ बलमा ११ चौका र एक छक्का हान्नुभयो । अर्का ओपनर कुशल भुर्तेल १३ रनमा आउट हुनुभयो । बलिङमा क्यानडाका डिलोन हेलिगरले एक विकेट लिनुभयो । 


यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ३२ रन बनाएको थियो। क्यानडाका लागि नवनीत धनिवालले ५० रन बनाउनुभयो । यस्तै निखिल दत्तले ४५, कप्तान साद विन जाफरले अविजित ३१, हर्ष ठाकेरले २९, श्रीयास मोभाले २५ र श्रीमान्थ विजयरत्नेले २२ रन बनाउनुभयो ।


बलिङमा नेपालका हेमन्त धामीले तीन विकेट लिनुभयो । धामीले क्यानडाविरुद्ध नेपालका लागि डेब्यु गर्नुभएको हो । कुशल मल्ले दुई तथा ललित राजवंशी र आकाश चन्दले एक एक विकेट झार्नुभयो ।