फिनल्याण्ड, माघ २९ गते । फिनल्याण्डको राष्ट्रपतिमा राष्ट्रिय गठबन्धनका लागि राष्ट्रपति पदका उम्मेदवार अलेक्ज्याण्डर स्टब विजयी हुनुभएको छ । आइतबार राति सम्पन्न भएको फिनल्याण्डको राष्ट्रपतीय निर्वाचनमा उहाँले सहज जित हासिल गर्नुभएको हो ।
फिनल्याण्डको न्याय मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार सबै मत गणनासँगै अन्तिम चरणमा स्टबले ५१.६ प्रतिशत समर्थन पाउनुभयो । स्वतन्त्र उम्मेदवार पेक्का हाभिस्टोले ४८.४ प्रतिशत मत प्राप्त गर्नुभयो ।
स्टबले साउली निनिस्टोको स्थानमा मार्च १ मा नर्डिक राष्ट्रको १३ औँ राष्ट्रपतिको रूपमा शपथ लिनुहुनेछ । प्रारम्भिक चरणमा ७५ प्रतिशतको तुलनामा ७०.७ प्रतिशत मतदान भएको थियो । ५५ वर्षीय स्टबले युरोपेली संसद्को सदस्य, फिनल्याण्डको संसद् सदस्य, फिनल्याण्डका प्रधानमन्त्री, विदेशमन्त्री र युरोपेली लगानी बैङ्कका उपमहानिर्देशकका रूपमा काम गरिरहनुभएको छ ।
उहाँले पीएच.डी. अन्तर्राष्ट्रिय राजनीतिमा र स्वीडिश, फिनिस, अङ्ग्रेजी, फ्रान्सेली र जर्मन बोल्न पनि सक्नुहुन्छ । फिनल्याण्डमा हरेक ६ वर्षमा राष्ट्रपतिको निर्वाचन हुन्छ । प्रत्यक्ष जनमतको आधारमा निर्वाचन हुन्छ । यस वर्ष जनवरी २८ मा प्रारम्भिक राउण्डमा नौ जना उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका थिए । जसमा शीर्ष दुई अन्तिम चरणमा पुगेका थिए । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल