• १२ साउन २०८१, शनिबार

स्थानीयद्वारा एम्बुलेन्स माग

blog

रमेश विश्वकर्मा

गुल्मी, माघ २९ गते । गुल्मीको रेसुङ्गा नगरपालिका–१४ पराल्मीका स्थानीयले एम्बुलेन्सको माग गरेका छन् । रेसुङ्गा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा त्यहाँका स्थानीयले एम्बुलेन्सको माग गरेका हुन् ।

स्थानीय सुशील सूर्यवंशीले यहाँका नागरिकका लागि एम्बुलेन्सको खाँचो रहेको बताउनुभयो । उहाँले एम्बुलेन्सको सुविधा उपलब्ध गराइ गाउँमा कोही बिरामी भएर बाहिर जानुपर्दा चर्को शुल्क तिरेर जानुपर्ने बाध्यता हटाउन माग गर्नुभयो । कोही बिरामी भएर सदरमुकाम तम्घासलगायत बाहिर उपचारका लागि जानुपर्दा अन्य सवारी साधन रिजर्भ गरेर जाँदा महँगो शुल्क तिर्नु परेको  भन्दै उहाँले यहाँका नागरिकलाई एम्बुलेन्सको आवश्यकता रहेको बताउनुभयो ।

अर्का स्थानीय केशवप्रसाद पोखरेलले कृषकलाई उत्साहित बनाउन पशुपालनमा नस्ल सुधारका कार्यक्रम ल्याउनुपर्ने भन्दै सिँचाइको अभाव समेत रहेको बताउनुभयो । उहाँले यस वडालाई आलु र तरकारीका लागि पकेटक्षेत्र बनाई कृषिमा विशेष ध्यान पुर्‍याउन र दुग्ध डेरीको स्थापना गरी कृषकलाई सहयोग गर्न आग्रह गर्नुभयो । 

त्यस्तै, दिवाकर पोखरेलले वडा कार्यालयबाट हुने विकास निर्माण र योजना छनौट प्रक्रियामा सबैलाई समावेश गरी लैजान सुझाव दिनुभयो । त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाले चालू आर्थिक वर्षको हालसम्मको सम्पादन गरेका कार्यको जानकारी गराउनुभयो । 

यस नगरपालिकामा चालु आर्थिक वर्षको अहिलेसम्म ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति र ३६ प्रतिशतभन्दा बढी वित्तीय प्रगति भएको बताउनुभयो । बाँकी रहेका योजना पनि चालू आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न गर्नेगरी लागिरहेको बताउनुभयो ।

सहभागीको जिज्ञासालाई सम्बोधन गर्नुहुँदै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सधैँ आफूहरूले नागरिकलाई केन्द्रमा राखेर काम गरेको बताउनुभयो । उहाँले भूगोलले कठिनाइ भएको यस वडामा आगामी आर्थिक वर्षमा पनि विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताउनुभयो । 

एम्बुलेन्स सञ्चालनका लागि नगर कार्यपालिका बैठकमा छलफल गरेर अघि बढिने भन्दै उहाँले नगरपालिकालाई सुशासनको पाटोमा पनि अब्बल बनाउन अहिले वडा तहमै आएर नागरिकको समस्या, माग तथा गुनासोको सम्बोधन गर्न सार्वजनिक सुनुवाइ गरिएको बताउनुभयो । नगरपालिकाले अहिले देखिने र अनुभव गर्नेगरी विकासको काम अगाडि बढाएको उहाँले बताउनुभयो ।