• १२ मंसिर २०८१, बुधबार

चिङ्गाडका बासिन्दालाई केन्द्र आउनै सकस

blog

चिङ्गाड गाउँपालिकाको कार्यालय सुर्खेत ।

नवीन सुवेदी 

सुर्खेत, माघ २८ गते । सुर्खेतको पूर्वी उत्तर क्षेत्रमा रहेको ‘चिङ्गाड’ भूगोलका हिसाबले दैलेख र जाजरकोटसँग जोडिए पनि यो गाउँपालिका दुर्गम क्षेत्रभित्र पर्दछ । भौगोलिक विकटताका कारण घरबस्तीहरु टाढाटाढा हुँदा पालिकासँगको न्यून बजेटले नागरिकका असीमित माग सम्बोधन गर्नुपर्ने अर्को छुट्टै बाध्यता छ । 

त्यसैमा गाउँपालिकाको केन्द्र विवाद साढे ६ वर्ष बित्दासमेत टुङ्गिएको छैन । केन्द्र विवाद नटुङ्गिँदा पालिकाभित्रको भौतिक पूर्वाधार निर्माणदेखि सार्वजनिक सेवा प्रवाहमा समस्या भइरहेको छ । राजनीतिक दलका नेताहरुको आ–आफ्नो स्वार्थको कारण चिङ्गाड पालिका केन्द्रविहीन भएको स्थानीय बासिन्दा बताउँछन् । पालिका केन्द्रको टुङ्गो लाग्न नसक्दा अहिले अवलचिङ्गबाट सेवा लिन सेवाग्राहीलाई दिनभरी हिँड्नुपर्ने बाध्यता छ । पालिका केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुगेपछि कहिले टुङ्गिने भन्ने अन्योलले थप समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले बताउनुभयो । 

उहाँले पालिकाको केन्द्र तोकिए पनि सर्वोच्चमा मुद्दा परेकाले फैसलामा ढिलाई हुँदा नागरिकमा जनप्रतिनिधिमाथि असन्तोष बढ्दै गइरहेको जनाउनुभयो । "मभन्दा पहिले बनेको गाउँपालिका सरकार नेपाली कांग्रेसको एक्कल बहुमतको सरकार थियो । गाउँपालिकाको केन्द्र कहाँ बनाउने भन्ने निर्णय नै उसले गर्न सकेन," उहाँले भन्नुभयो, "यसका वावजुद विकास निर्माणमा सकारात्मक सोचका साथ त्यसबेला हामी प्रतिपक्ष हुँदाहुँदै पनि गाउँपालिकाको केन्द्र तोक्न दुई तिहाई बहुमत पुर्‍य ाउन सहयोग गरियो । त्यसबेला गाउँपालिका केन्द्रका लागि मेरै नेतृत्वमा चन्दा उठाएर नौ रोपनी जग्गा पनि खरिद गरियो ।" उहाँले दुई तिहाई बहुमतले पालिकाको केन्द्र सार्ने निर्णय हुँदाहुँदै पनि तत्कालिन अध्यक्ष देवबहादुर चन्दको मनसाय पालिका केन्द्र बनाउने नहुँदा कामले गति लिन नसकेको बताउनुभयो । 

उहाँका अनुसार निवर्तमान उपाध्यक्ष मनमाया आचार्यले अरु मान्छे लगाएर उच्च अदालत सुर्खेतमा मुद्धा हालेपछि फैसला ढिलाईले थप समस्या भईरहेको थियो । "पुनारावेदनबाट फैसला हुँदापनि पालिका केन्द्र बनाउने र सार्ने काम भएन । अन्त्यमा निवर्तमान उपाध्यक्ष आचार्य लगायतको टीमले सर्वोच्च अदालतमा मुद्धा हाल्यो," उहाँले भन्नुभयो, "अदालतले कुनैपनि कामकाज अगाडि नबढाउनु भन्ने आदेश दिँदा अहिलेसम्म काम रोकिएको हो ।" 

उहाँले अघिल्लो गाउँपालिका सरकारका दुबै जना एउटै पार्टी नेपाली कांग्रेसबाटै निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुँदाहुँदै पनि आपसी विवादका कारण गाउँपालिकाको केन्द्र तोक्नेदेखि भवन निर्माणको काम अलपत्र परेको जानकारी दिनुभयो । 

अदालतले छिटो भन्दा छिटो मुद्धाको किनारा लगाई दिएको भए जनतालाई सहज हुने उनको विश्वास छ । अन्यथा, मुद्धा दायर गर्ने पक्षले मुद्धा झिकि दिएमा केन्द्र तोक्ने र प्रशासनिक भवन निर्माण कार्य अघि बढ्ने त्यहाँका कानूनी जानकार बताउँछन् । अहिले पालिका केन्द्र नहुँदा दह, च्यारकुले, पाखापानी, गोगने, लावन रजेना, काउले  कोटिला, पारीलेख रहकुल, बाटासाल, डाँडाखर्क, काँडा पोखरी पुङ, काँडा घुओनी, अवल घुओनी, पाईले वडा काँडा धनपानी, देउला सिंहला, मटेला जोगाडा, चद्रर्के, पाम्का, टोट्का र पुडे सिमीलगायत गाउँका नागरिकले समस्या भईरहेको छ । 

चिङ्गाग–३ टुलेका चिमानबहादुर रानाले पालिका बनेको ६ वर्षसम्म केन्द्रको टुङ्गो नलाग्नु दुखको कुरा भएको बताउनुभयो । उहाँले सुरुवाती वर्षदेखि पालिकाको केन्द्र तोक्ने कार्यमा दलहरुबीच भएको विवाद अहिलेसम्म पनि समाधान नहुँदा आफूहरुले दुख पाईरहेको गुनासो गर्नुभयो । "हाम्रा जनप्रतिनिधिका लागि पालिका केन्द्र तोक्न नसक्नु जस्तो लाजमर्दो अरु के होला ?", उहाँले भन्नुभयो, "पालिकाको केन्द्र नबन्दा हामी नागरिकहरुमा मात्र होइन स्वयम् जनप्रतिनिधिलाई समेत कठिनाई भईरहेको छ ।" उहाँले सबै प्रक्रिया पुरा भएको र राज्यको धेरै खर्च भइसकेको केन्द्रका विषयमा अदालतले ध्यान नदिएकै कारणले बिवाद लम्वीदै गएको गुनासो गर्नुभयो । 

गाउँ सभाको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव अदालतको फैसला ढिलाइले नागरिकसँगै पालिकालाई सेवा प्रवाहमा समस्या भईरहेको छ । पालिका केन्द्रका लागि पर्याप्त भौतिक पूर्वाधार, भौगोलिक र प्रशासनिक सुगमता, यातायात सञ्चार सुविधाका आधारमा चिङ्गगाडको ‘ढाँडखेत’ उपयुक्त मात्र होइन स्थान हो । पालिकाको वडा नम्वर. २  स्थित ‘ढाँडखेत’ केन्द्रविन्दु बनाउन बहुसङ्ख्यक नागरिक जोडतोडले लागेपनि अदालतको विचराधिन मुद्धा फैसलामा भईरहेको ढिलाईले  विवाद समाधान हुन सकिरहेको अवस्था छैन । पालिकाको केन्द्रका विषयमा अदालतमा मुद्दा चलिरहेकाले अदालतले नटुङ्गाएसम्म अन्य कुनै प्रक्रिया अगाडि नबढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समिक्षा सोमैले बताउनुभयो ।