• १४ मंसिर २०८१, शुक्रबार

धार्मिक पर्यटकको गन्तव्य बन्दै ‘पन्नहवादेवी मन्दिर’

blog

‘पन्नहवादेवी मन्दिर’ परिसरमा बनाइएका विभिन्न देवी देउताका मूर्ति । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, माघ २६ गते । बाँकेको नरैनापुर गाउँपालिका –१ मा पर्ने कटकुइँया नजिक रहेको ‘पन्नहवादेवी समय माता मन्दिर’ ले प्रचुर मात्रामा धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको छ । 

नरैनापुरको कटकुइँयादेखि तीन किलोमिटर उत्तरतर्फ जङ्गलबिचमा रहेको सो मन्दिरलाई व्यापक प्रचारप्रसार र विकास गर्न सके जिल्लाकै धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयको विश्वास छ । 


नरैनापुर –१ का वडाध्यक्ष इशाक जोलाहले हिन्दु र मुश्लिम दुवै आस्था राख्ने धर्मावलम्बीले सो मन्दिरमा पूजाआजा गर्दैआएको बताउनुभयो । उहाँले सो मन्दिरमा गएर पूजाआजा गरी वर माग्नेहरुको मनले चिताएको पुग्ने जनविश्वासका कारण यसको गरिमा र महत्व अझै बढ्दै गएको बताउनुभयो । 

‘धार्मिक तथा पर्यटकीय हिसाबले यो अति महत्वपूर्ण छ, तर यसलाई विकास गर्न कहिँ कतैबाट पनि सहयोग छैन, प्रचारप्रसारको कमी हुँदा यो मन्दिर ओझेलमा परेको छ’ उहाँले भन्नुभयो ।

मन्दिरका पुजारी मनोजकुमार बाहुनले मन्दिरमा हरितालिका तीज, चैतेदसैं, नवमी, शिवरात्रि, असार तथा असोज पूर्णिमा विशेष मेला लाग्नेगरेको बताउनुभयो । उहाँले मेला हेर्न भारतका विभिन्न स्थान र जिल्लाका हजारौं भक्तजन तीर्थालुहरु आउनेगरेको बताउनुभयो । 


उहाँका अनुसार मन्दिरमा बलि चढाइँदैन । फलफूल, मिठाइ, चुनरी तथा नरिवलहरु मात्र देवीकहाँ चढाइने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । करिब ९ विघा क्षेत्रफलमा फैलिएको जङ्गलबिचमा रहेको सो मन्दिरमा विभिन्न आकर्षक मूर्तिहरु छन् । विभिन्न देवीदेउता, ऋषिमुनि, जङ्गली जनावरलगायतका २९ वटा विभिन्न मूर्तिले मन्दिर क्षेत्रलाई झन आकर्षक र सुन्दर बनाएको छ । स्वर्गीय राजा वीरेन्द्रको घोडचढी मूर्ति पनि यहाँ बनाइएको छ । 

त्यहाँ रहेका आकर्षक मूर्तिहरु त्यहिँका स्थानीय टमाटर बाबा भन्ने फरहारी बाबाले बनाएको मन्दिर व्यवस्थापन समितिका सचिव अर्जुनप्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार टमाटर बाबाले मन्दिर परिसरमै हातैबाट सबै मूर्तिहरु बनाउनुभएको हो । उहाँले आफ्नोसमेत मूर्ति बनाएर त्यहाँ राख्नुभएको छ ।

मन्दिर कहिलेदेखि थियो भन्ने कुरा कसैलाई थाहा छैन । बाजेको पनि बाजेका पालादेखि त्यहाँ गएर पूजा गर्दैआएको बताउनुहुन्छ स्थानीय ८० वर्षीय ठाकुर अहिर । ‘हामी सानो हुँदा बाजेले हामीलाई पूजा गर्न मन्दिरमा लानुहुन्थ्यो, बाजेले पनि आफ्नो बाजेको पालादेखि नै पूजा गर्दैआएको बताउनुहुन्थ्यो, तर कहिलेदेखि त्यहाँ पूजा गर्न थालेको भन्ने यकिन छैन, तर परापूर्वकालदेखि नै हो’ उहाँले भन्नुभयो ।


स्थानीय ४५ वर्षीय जाकिर हुसेन साइले आफू मुश्लिम भए पनि बर्षौदेखि यहाँ आएर मन्नत माग्ने गरेको बताउनुभयो । उहाँले हिन्दु दाजुभाइसँग हरेक चाडवाडमा यहाँ आएर मन्नत माग्ने र मनले मागेको पुग्नेगरेको बताउनुभयो । ‘यो स्थान हिन्दु तथा मुस्लिम सबैका लागि बराबर छ, यहाँ भेदभाव हुँदैन । हामीहरुले आ–आफ्नो तरिकाले पूजाआजा गर्दछौं’ जाकिरले भन्नुभयो ।

मन्दिर व्यवस्थापन समितिका सचिव अर्जुनप्रसाद यादवले ऐतिहासिक पृष्ठभूमि बोकेको मन्दिर भए पनि हाल आएर मात्र बल्ल यसको विकास तथा प्रवर्द्धन गर्न लागिएको बताउनुभयो । ‘हामीले बल्ल यस क्षेत्रको महत्व बुझ्दैछौं, यसलाई व्यवस्थित रुपले अगाडि बढाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा व्यापक प्रचारप्रसार गरी चिनाउन सके यहाँको आर्थिक उन्नति पनि हुने देखियो’ यादवले भन्नुभयो ।

शुक्रवार उक्त मन्दिर क्षेत्र अवलोकन गर्न पुग्नुभएका लुम्बिनी प्रदेसका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले मन्दिर क्षेत्रलाई विकास गर्न सरकारबाट आवश्यक पहल गर्ने बताउनुभयो । स्थानीयले मन्त्री केसीसमक्ष त्यहाँसम्म पुग्ने बाटो, विद्युत्, पानी, धर्मशाला तथा मन्दिर क्षेत्रलाई तारबार गरिदिन माग गरेका थिए । 


मन्त्री केसीले आफूले यस क्षेत्रलाई अगाडि बढाउनका लागि आउने बजेटमा पार्न पहल गर्ने बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्र पनि भएका कारण विशेष ध्यान दिने बताउनुभयो । 

मन्त्री केसीले जिल्लाका विभिन्न धार्मिक आस्थाका मठमन्दिरलाई धार्मिक सर्किटको रुपमा विकास गर्न सके आर्थिक टेवा पुग्नुका साथै सामाजिक सांस्कृतिक महत्व पनि बढ्ने बताउनुभयो ।