दोलखा समाचारदाता
दोलखा, माघ २५ गते । दोलखाको कालिञ्चोक गाउँपालिका–४ स्थित जिल्लाकै एक मात्र संस्कृत माध्यमिक विद्यालय हिलेपानीमा बन्द भएको दुई दशकभन्दापछि पुनः संस्कृत भाषा पठनपाठन गरिनुपर्ने माग अभिभावकले गरेका छन् ।
विश्वका धेरै भाषाको जननी संस्कृत भाषाले नेपाली भाषालाई समेत उत्कृष्ट बनाउने र विद्यार्थीको चरित्र सुधारमा समेत सहयोग पुग्ने भन्दै संस्कृत शिक्षा बन्द भएको २२ वर्षपछि पठनपाठन गरिनुपर्ने जोडदार माग गरिएको अभिभावक रामकुमार केसीले जानकारी दिनुभयो । “संस्कृत भाषाको अध्ययनमा भाषा मात्रै होइन, नैतिकता थियो,” अर्का अभिभावक श्याम केसीले भन्नुभयो, “संस्कृतबिनाको पढाइले विद्यार्थीमा केही छाडापन देखिएको छ । संस्कृतमा नैतिकता, आदर, सत्कारलगायतका बढी विषय रहेकाले निकै टाठा विद्यार्थी उत्पादन हुन्थे । सिर्जनशील र कल्पनाशील पनि हुन्थे ।”
अब संस्कृत पठनपाठन गरेर शिक्षालाई पुरानो लयमा ल्याउनुपर्ने अभिभावकको माग छ । संस्कृतका जानकार एवं गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले भन्नुभयो, “शास्त्रमा ‘सा विद्या या विमुक्तये’ भनिएको छ । संस्कृत वेद, प्राचीन, देव भाषा, ज्ञान र विज्ञानको भाषा, भूगोल, राजनीतिक अर्थशास्त्रको स्रोत मात्र होइन, विश्वका भाषाको जननी पनि हो । त्यसैले स्थानीय पाठ्यव्रmम अन्तर्गत शिक्षा विषयलाई समावेश गरी पठनपाठन सुरु गर्न लागिएको छ । जिल्लाको एक मात्र संस्कृत माविलाई पुरानै लयमा ल्याउन पनि लागिएको छ ।”
२०३१ सालमा स्थापना भएको यो विद्यालयमा पर्याप्त संरचना नहुँदा पनि खुला चौरमै संस्कृत पठनपाठन सुरु गरिएको थियो । व्यवस्थित हुँदै २०४० सालमा कक्षा १–८ र २०४८ सालदेखि कक्षा १–१० सम्म संस्कृतमा ज्योतिषशास्त्रको पठनपाठन भइरहेको थियो । यो बिचमा ज्योतिषशास्त्रका धेरै विद्यार्थी उत्पादन भई रोजगारीसमेत पाइरहेका छन् । २०५८ सालमा द्वन्द्वकालमा झुसिलो डकार आउने विद्या भनेर संस्कृत भाषा पठनपाठन बन्द गरियो । जिल्लाका सबै सामुदायिक विद्यालयमा कक्षा १–८ सम्म संस्कृत शिक्षा अध्ययन गरिन्थ्यो । अहिले संस्कृत पठनपाठन पूरै बन्द रहेको छ ।
विद्यालयका प्रधानाध्यापक भीम पाण्डेले भन्नुभयो, “संस्कृत पठनपाठन नहुँदा पनि संस्कृत मावि नै नाम कायम छ । पठनपाठन हुँदाका बखत निमाविमा एक र माविमा एक सस्ंकृतकै दरबन्दी थियो । सामाजिक र गणित विषयका शिक्षकले पनि संस्कृत पठनपाठन गराउनुहुन्थ्यो । अहिले यी दरबन्दी समायोजन भइसकेका छन् । विषय शिक्षकको दरबन्दी कायम गरी पुरानै लयमा संस्कृत पठनपाठन गराउँदा राम्रो हुन्थ्यो । स्थानीय सरकारले आँटे नहुने कुरै छैन ।”
विद्यालयमा अहिले शिशुदेखि १२ कक्षासम्म पढाइ हुने गरेको छ । माविमा पाँच, निमाविमा चार, प्राविमा चार, उच्च माविमा दुई र शिशु कक्षामा एक जना गरी १६ जना शिक्षक छन् । विद्यालयमा २१९ विद्यार्थी अध्ययनरत छन् ।