• २२ वैशाख २०८१, शनिबार

विश्वविद्यालय खेलकुदमा त्रिवि च्याम्पियन

blog

च्याम्पियन त्रिभूवन विश्वविद्यालयका खेलाडी ।

काठमाडौं, माघ २३ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगितामा च्याम्पियन बनेको छ । मङ्गलबार सम्पन्न दुई दिने प्रतियोगितामा त्रिवि सर्वाधिक १८ स्वर्ण जित्दै च्याम्पियन बनेको हो । प्रतियोगितामा २३ स्वर्ण समावेश थियो । त्रिविले थप आठ रजत र तीन कांस्य पनि जित्यो । च्याम्पियन त्रिविले रनिङ ट्रफी प्राप्त गरेको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय तीन स्वर्ण, चार रजत र नौ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको लुम्बिनी बौद्ध विश्वविद्यालयले एक स्वर्ण तथा समान दुई रजत र दुई कांस्य जित्यो ।  बाँकी एक स्वर्ण नेपाल संस्कृत विश्वविद्यालयले जित्यो । नेपाल संस्कृतले थप एक रजत र एक कांस्य पनि जित्यो ।

टेबलटेनिस, एथलेटिक्स, ब्याडमिन्टन र भलिबल गरी चार खेल समावेश प्रतियोगिताको एथलेटिक्समा मङ्गलबार त्रिविले चार स्वर्ण जितेको हो । उसले पहिलो दिन पाँच स्वर्ण जितेको थियो ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको एक सय मिटर दौडको पुरुषमा सुदूरपश्चिमका मुकेश विष्ट र महिलामा लुम्बिनीकी अनिशा कुँवर क्षेत्री, सटपुटको पुरुषमा त्रिविका वीरेन्द्र कुँवर र महिलामा त्रिविकी सञ्चिता घिमिरे तथा आठ सय मिटर दौडको पुरुषमा त्रिविका विकेश घिमिरे र महिलामा त्रिविकी राज्यलक्ष्मी राउतले स्वर्ण जित्नुभयो । 

ब्याडमिन्टनमा पनि त्रिविकै वर्चस्व रह्यो । पाँच स्पर्धामा प्रतिस्पर्धा भएको ब्याडमिन्टनमा त्रिविले चा स्वर्ण जित्यो । सुदूरपश्चिमले एक स्वर्ण हात पारेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पुरुष सिंगल्समा त्रिविका सुनिल कार्की, महिला सिंगल्समा त्रिविकी निसम सुब्बा, पुरुष डबल्समा सुदूरपश्चिमका पुष्करराज भट्ट र प्रकाश विष्ट, महिला डबल्समा त्रिविका इस्मिता बढुवाल र निसम सुब्बा तथा मिक्स डबल्समा त्रिविका सुनिल कार्की र निसम सुब्बाले पहिलो स्थान हात पार्नुभयो । टेबलटेनिसको पुरुष सिंगल्समा नेपाल संस्कृतका गनन्जय दाहाल तथा महिला सिंगल्समा लस्ता महर्जनले स्वर्ण जित्नुभयो । 

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालय दाङ, काठमाडौँ विश्वविद्यालय, धुलिखेल, पूर्वाञ्चल विश्वविद्यालय विराटनगर, पोखरा विश्वविद्यालय पोखरा, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, लुम्बिनी बौद्ध विश्वविद्यालय रुपन्देही, सुदूरपश्चिम विश्वविद्यालय कञ्चनपुर, कृषि तथा वनविज्ञान विश्वविद्यालय चितवन र गण्डकी विश्वविद्यालय पोखराको सहभागिता रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न राखेपले ४० लाख रुपियाँ खर्च गरेको छ ।