• २७ वैशाख २०८१, बिहिबार

समुदायमा कांग्रेस : केही भएन भन्ने भाष्य अलोकतान्त्रिक तत्वले निर्माण गर्न खोजे

blog

काठमाडौं, माघ २२ गते । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकमा केही भएको छैन भन्ने भाष्य अलोकतान्त्रिक तत्वले निर्माण गर्न खोजेको बताउनुभएको छ । 

गोरखापत्र अनलाइसँग समुदायमा कांग्रेस अभियानको सन्दर्भमा राजनीतिक दल र सरकारले दिने डेलिभरीप्रति नागरिक सधैं असन्तुष्ट छन् नि ! भन्ने जिज्ञासामा उहाँले  रामराज्य नै बन्न नसकेको तर देशको समस्यालाई निकास दिनुपर्ने ऐतिहासिक जिम्मेवारी रहेको बताउनुभयो । देश विकासको क्रममा केही भइरहे पनि अलोकतान्त्रिक तत्वहरुले केही पनि भएको छैन भन्ने भाष्य निर्माण खोजेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा केही नभएको होइन, केही भएको छ । हुँदै भएन भन्ने भाष्य निर्माण गर्न अन्डेमोक्रेटिक इलिमेन्टस्हरुले खोजेको तपाईंहरुले देख्न सक्नुहुन्छ । राम राज्य नै हामीले बनायौं भन्ने छैन, अझै गर्न बाँकी छ, ऐतिहासिक मूल पार्टी पनि हो ।” 

उहाँले समुदायमा कांग्रेस अभियानमा उठेका नागरिकका गुनासो सम्बोधन गर्न महासमितिको बैठकमा एजेण्डा प्रस्तुत हुने बताउनुभयो । माघ १६ गतेदेखि सुरु भएको पहिलो चरणको अभियानमा केन्द्रीय नेता तथा प्रतिनिधि जिल्ला–जिल्ला पुग्नुभएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसको बेसिक र फण्डामेन्टल अब्जेक्टिभ के हो भने नागरिकको नेपाली कांग्रेसप्रति के गुनासा छन् ? नेपाली कांग्रेस पार्टी कस्तो भइदिओस् भन्ने आम नागरिकको चाहना छ ? सङ्घ, प्रदेश र केन्द्र तिनै तहमा हाम्रो सरकार छ । स्थानीय तहमा सबैभन्दा ठूलो दल छ । समतामूलक समाजको सिर्जना गर्नुछ ।”

उहाँले १४ औं महाधिवेशनबाट नेतृत्व चयन भएको र नीति अधिवेशनले निर्दिष्ट गरेको कामबारे मुलुकलाई दिशानिर्देश गर्ने ढङ्गले महासमिति बैठकमा छलफल हुने बताउनुभयो । समुदायमा कांग्रेस अभियानको अवधिमा विभिन्न तह र तप्काका व्यक्तिहरु, उद्योगी, व्यवसायी, शिक्षक, वकिल, किसान, कृषि फर्म सञ्चालक लगायत सबैसँग नागरिकले अपेक्षा गरे अनुसारको काम किन गर्न सकिएन भन्ने गुनासो उनीहरुबाट सुन्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आम नागरिकले अपेक्षा गरे अनुसार हामीले किन गर्न सकेनम त ? कहाँ के कमजोरी छ त ? सङ्घीय लोकतन्त्र गणतन्त्र संसारकै सबैभन्दा राम्रो पोलिटिकल सिस्टम हामीले ल्याउन सक्यौं, जसरी पोलिटिक्समा हाइजम्प, लङ्जम्प हानेका छौं, तदनुरुप मुलुकको आर्थिक विकास, सुशासन, आम नागरिकको जीवनस्तर, नागरिकले अनुभूत हुने गरी अब हामीले काम गर्नुपर्छ ।”

अभियानले नागरिकमा आशाको सञ्चार प्रवाह गर्छ भनेर कसरी विश्वास गर्न सकिएला भन्ने जिज्ञासामा उहाँले रैतीबाट नागरिक बनाउनेदेखि, २००७ सालको प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन, २०६२÷६३ को आन्दोलन, २०७२ मा संविधान घोषणा गर्नेलगायतका महत्वपूर्ण कार्य कांग्रेसको नेतृत्वमा भएको उल्लेख गर्नुभयो । नेपाली कांग्रेसले २००६ सालमा पारित गरेको अवधारणालाई अरु राजनीतिक दलहरुले पछ्याएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “जब २०४७ सालमा मल्टि पार्टी सिस्टम आयो । २०४८ सालमा कांग्रेसले एकल सरकार चलायो । त्यो बेला संसारको कुनै पनि देशकोभन्दा नेपाली कांग्रेसको इन्डिकेटर बेटर छ । कांग्रेसले मुुलुकको लागि गरेकै थियो । त्यसपछि दश, १२ वर्षसम्म सशस्त्र द्वन्द्वको नाममा कलकारखाना, उद्योग बन्द भयो । जननायक बीपी कोइरालाले परिकल्पना गरेको जनताबाट निर्वाचित जननायकहरुले संविधान बनाउनुपर्छ भन्ने कांग्रेसको अधिवेशनले २००६ सालमा पास गरेको विचार हो । तदअनुरुप, क्रान्तीकारी नेता गिरिजाबाबुको नेतृत्वमा द्वन्द्वरत दललाई शान्ति सम्झौता गरेर लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियामा कांग्रेसले ल्याउन सकेको छ । माओवादी, एमाले, माले विभिन्न दल संसदीय दलको कांग्रेसले जे नीति ल्याए त्यसमा ल्याउन हामीले सक्याैं भन्ने कुरामा गर्व महसुस गर्छौं ।”

राजनीतिक व्यवस्था परिवर्तन भएसँगै अवस्था पनि परिवर्तन गर्नुपर्छ भनेर चर्को नारा लाग्ने गरेको छ, अवस्था परिवर्तनमा यो अभियानको भूमिका के रहला भन्ने जिज्ञासामा उहाँले चुनावको समयमा मात्र घर–घरमा भोट माग्न जाने नेपाली परम्परा रहेको उल्लेख गर्नुहुँदै जनतालाई छिटोछरितो, प्रभावकारी सेवा प्रवाह गर्ने विषयमा ब्युरोक्रेसी अल्छी हो कि ब्युरोक्रेसीमा भएका मान्छेहरु जिम्मेवारी र जवाफदेहिता के मा चुके भन्ने विषयको सही हिसाबकिताब हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोलिटिकल पार्टी सुध्रने, सच्चिने कुराहरु छ । डेमोक्रेसी भनेको जीवनपद्दति पनि हो । हाम्रो पनि कमीकमजोरी छदै छैनन् भन्ने पनि होइन । हामी शुद्ध दुधले नुहाएका छौं भन्ने पनि होइन । र आम नागरिकको आशा, भरोसा र विश्वासको पार्टी नेपाली कांग्रेस बनाउँछाें । सिङ्गो एकमाना सरकार कांग्रेस पार्टीको मात्रै बनाउने गरी कांग्रेसले आफूलाई अगाडि बढाउँछ ।”

महासमिति बैठक पटक–पटक सर्नुको कारण के होला भन्ने जिज्ञासामा उहाँले पार्टीको आन्तरिक कारण नभ  मङ्सिरमा बस्ने भनिएको बैठक भूकम्प र पछिल्लो समय राष्ट्रिय सभा सदस्यको निर्वाचनका कारण मिति सरेको बताउनुभयो । अब फागुन ७ गतेदेखि १० गतेसम्म महासमिति बैठक बस्ने गरी सचिवालयले तयारी गरिरहेको उहाँको भनाइ छ । 

अभियानको सन्दर्भमा अन्तिममा उहाँले भन्नुभयो, “अभियानमा भाषण गर्ने, बोल्ने कुरा बताउनु छैन । कहाँ–कहाँ गल्ती भइरहेको छ ? लिडरहरुले आफूलाई करेक्सन गर्नुपर्छ । तदअनुरुप आफूलाई पनि करेक्सन गर्ने हो ।”


भिडियो : मनोजरत्न शाही

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।