• ६ माघ २०८१, आइतबार

उखु किसानलाई हप्ता दिनमै भुक्तानी

blog

सर्लाही समाचारदाता

सर्लाही, माघ २१ गते । सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले उखु किसानलाई हप्ता दिनभित्रै भुक्तानी दिन थालेको छ । 

प्रायः बेलैमा भुक्तानी दिएर अरू चिनी उद्योगभन्दा अलग्गै छाप बनाएको इन्दुशङ्करले यो वर्ष उखु बुझाएको हप्ता दिनभित्रै बैङ्क खातामा पैसा हाल्दिएपछि उखु किसान खुसी भएका छन् । 

इन्दुशङ्करका उखु प्रबन्धक योगनारायण रजकले किसान महासङ्घसँग ३० देखि ४५ दिनभित्र भुक्तानी गर्ने सहमति भए पनि उद्योगले एक हप्ताभित्रै भुक्तानी दिइरहेको बताउनुभयो । 

“किसान महासङ्घसँग एकदेखि डेढ महिनाभित्र ‘पेमेन्ट’ गर्ने भनी सहमति भएको छ तर हामीले हप्ता दिनभित्रै पैसा हाल्दिरहेका छौँ,” उखु प्रबन्धक रजकले भन्नुभयो । उद्योगले माघ १० गतेसम्म किसानबाट खरिद गरिएको उखुको ५२ करोड ६१ लाख १२ हजार रुपियाँ भुक्तानी गरिएको जनाएको छ । 

अब दुई/तीन दिनभित्रै थप १४ करोड ४१ लाख ५६ हजार रुपियाँ भुक्तानीका लागि तालिका तय पारिएको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले जानकारी दिनुभयो । सरकारले निर्धारण गरेको मूल्य अनुसार उद्योगले उखु किसानलाई प्रतिक्विन्टल ५६५ रुपियाँका दरले भुक्तानी गर्दै आइरहेको छ । 

यो वर्ष चिनी मिलले ५६५ र सरकारले अनुदानबापत ७० रुपियाँ प्रदान गर्ने गरी उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ निर्धारण भएको छ । पुस ६ गतेदेखि उखु क्रसिङ सुरु गरेको इन्दुशङ्करले सोमबारसम्म १४ करोड २२ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ । 

उद्योगले यो वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । उता सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले पनि आठ लाख छ हजार क्विन्टल उखु क्रसिङ गरी किसानलाई ३० करोडको हाराहारीमा भुक्तानी दिइसकेको उद्योगका प्रशासन सहायक कमलेश सिंहले जानकारी दिनुभयो । 

उखु किसानसमेत रहेका गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादवले यो वर्ष महालक्ष्मीले अहिलेसम्म भुक्तानीमा समस्या नदिएको बताउनुभयो । त्यस्तै सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग भने यो वर्ष अहिलेसम्म सञ्चालनमा आएको छैन । 

आफूहरू उद्योगमा गएर बुझ्दा उद्योग सञ्चालनको तरखर भइरहेको स्थानीय उखु किसान रामकल्याण यादवले बताउनुभयो । अन्नपूर्णले अघिल्ला वर्षको बक्यौता चुक्ता गर्न बाँकी नै रहेको उखु किसानले बताएका छन् ।