• ६ जेठ २०८१, आइतबार

लागूऔषध र महिला हिंसा सामाजिक समस्याः गृहमन्त्री श्रेष्ठ

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

फडिन्द्र अधिकारी

लेखनाथ, माघ २० गते। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लैंगिक हिंसा र लागूऔषधलाई सामाजिक समस्याको रुपमा औंल्याउँदै यी समस्या निर्मूल पार्न सरकार गम्भीर रहेको उल्लेख गर्नुभएको छ।

नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजनामा शनिबार भएको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो।

मन्त्री श्रेष्ठले समाजमा लागूऔषध प्रयोग बन्द गर्न लागूऔषधको असर र समस्यासम्बन्धी शिक्षा प्रदान गर्नुपर्ने धारणा राख्नुभयो।उहाँले भन्नुभयो, “कानुनको बर्खिलाप लागूऔषध दुरुपयोग गर्ने र समाजमा अराजकता पैदा गरी अन्य हिंसा निम्त्याउनेलाई बिना हिचकिचावट कानुनी कारबाही गर्नुपर्छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकासराज खनाललगायत सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा कास्कीमा लागूऔषध दुर्व्यसनी तथा लैंगिक हिंसाको तथ्याङ्क प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले प्रस्तुत गर्नुभयो।पोखरा थियटरको तर्फबाट जनचेतनामूलक नाटक, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान पोखराको तर्फबाट जनचेतनामुलक गीत तथा नृत्य प्रस्तुत गरिएको थियो।

शनिबारै गृहमन्त्री श्रेष्ठले गण्डकी प्रदेश प्रहरी कार्यालय निरीक्षण गर्नुभएको छ।उहाँले सरकारको प्रत्यक्ष उपस्थिति नै प्रहरी भएको चर्चा गर्दै संविधानको रक्षा, पालना तथा नागरिकको जीवन रक्षाका लागि दत्तचित्त हुन निर्देशन दिनुभयो।प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले शान्ति, सुरक्षामा नागरिकको भूमिकालाई समेत बढाउन आग्रह गर्नुभयो।