• ११ मंसिर २०८१, मङ्गलबार

लोप हुन थाले जलवायु मैत्री घुमाउने घर

blog

तनहुँको शुक्लागण्डकी नगरपालिकामा पर्यटकलाई आकर्षित गर्न आधुनिक तरिकाले बनाइएको गोलो घर । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ २० गते । तनहुँमा जलवायु मैत्री घुमाउने घर लोप हुन थालेको छ । पहिले गाउँघरमा प्रशस्त देखिने घुमाउने घर आजकल विरलै देखिन्छ । विशेष गरी तनहुँमा रहेका दरै जातिहरू सबै जना घुमाउने घरमा बस्दै आएकोमा हाल त्यस्ता घर विस्थापित गर्दै गएपछि उनीहरूले आफ्नो मौलिक घरको पहिचान गुमाउँदै गएका छन् ।

तनहुँको व्यास नगरपालिका–१० का भेषबहादुर दरैले मौलिक घुमाउने घर लोप हुँदै गएको बताउनुभयो । घर हराउँदा पहिचान हराउने भएकोले संस्कृति बोकेको जलवायु मैत्री घरलाई लोप हुन नदिन सबलीकरण गर्दै संरक्षण गरेर बसेको बताउनुभयो । दरैले भन्नुभयो ‘‘घुमाउने घर स्वास्थ्यका लागि ठिक, जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकोले आधुनिक बनाएको छैन ।’’गाउँमा सबैले पुरानो घर भत्काएर आधुनिक सिमेन्टको घर बनाए पनि दरैको एक मात्र घुमाउने घर रहेको छ ।

भेषबहादुरको आमा सुकमाया दरै ६२ वर्ष पहिला नै बनेको घरमा बसेको जानकारी दिनुभयो ।  लिपपोत गर्ने छाउन प्रयोग हुने डाँडाभाटा र खरलाई बेलाबेलामा परिवर्तन गरेर बसिरहेको बताउनुभयो । सुकमायाले भन्नुभयो, ‘‘आमा यो घर नभत्काउनु है भन्छन् सबैले आरसिसी घर बनाए पनि मैलै बनाएको छैन ।’’ सिमेन्टले बनाइएका घर जाडोमा चिसो धेरै हुने र महँगो पनि हुने भएकोले नबनाएको उहाँले बताउनुभयो ।  दुई वटा ढोका भएको घरभित्र चार वटा कोठा रहेका छन् त्यही घरमा दरै परिवार बस्दै आई रहेका छन् । लोपोन्मुख रहेको घर संरक्षणको लागि धेरै प्रयत्न गर्नेलाई स्थानीय सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने दरै बताउनुहुन्छ । पहिचान नै गुम्ने भएकाले मद्दत गर्नुपर्ने धारणा दरैको छ । जनशक्ति अभावमा घरको संरक्षण गर्न कठिनाइ सुकमाया बताउनुहुन्छ । सुकमायाले भन्नुभयो, ‘‘बुढापाकाले छाना छाउनको लागि माथि उक्लिन नसक्दा पनि काममा लगाउनु परेको छ युवाहरूले नसिकेकाले समस्या परेको छ ।’’ चोयाले बाँधेर डाँडाभाटा तयार गर्न र खरले छाउनको लागि ६, ७ वटा गाउँमा पुगेर बुढापाकाहरू ल्याउनु परेको सुकमायाले जानकारी दिनुभयो ।

परम्परागत रूपमा बाबुबाजे बसोबास गर्दै आएका खरले छाएका घुमाउने घर लोप हुँदै गएकाले आधुनिक घर नबनाएको दरै परिवारको भनाई छ । टिनको छाना, ढलान गरिएका घरमा बढी गर्मी हुन्छ त्यसैले यहीलाई मर्मत सम्भार गरी बसेका छौँ भेषबहादुरले भन्नुभयो, गर्मीबाट राहत पाउन माटोबाट बनेको घर उपयुक्त विकल्प हो’’ । केही वर्ष अघिसम्म जिल्लाका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एक–दुई मात्रै देख्न सकिन्छ । हरेक गाउँका बासिन्दा सहर बजारतर्फ आकर्षित हुन थालेपछि र गाउँ गाउँमा यातायात सुविधा पुगेपछि अहिले घर आधुनिक बन्न थालेका छन् ।

घुमाउने घर छाउने खरसमेत प्रशस्त पाइन छाडेकाले तथा सबै ठाउँमा जस्तापाताको पहुँच राम्रो भएकाले पनि यी घर अब इतिहासमा मात्र सीमित हुने खतरा बढ्दै गएको छ । ‘‘केही वर्ष अघिसम्म गाउँमा अधिकांशका घुमाउने घर थिए तर अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन्’’ व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले भन्नुभयो, संरक्षण गर्न र भावी पुस्ताबारे जानकारी दिन दरै सङ्ग्रहालय निर्माण गरिएको जानकारी दिनुभयो ।  घुमाउने घर र  बस्नका लागि न्यानो र स्वास्थ्यका दृष्टिले समेत लाभदायक हुने भए पनि पछिल्लो समय धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएपछि लोप हुँदै गएको उहाँ बताउनुहुन्छ । घुमाउने घर बन्न  छाडेपछि विरलै मात्रै देखिने गरेको छ । आधुनिक संरचना भित्रिएसँगै परम्परागत घुमाउने घर लोप हुन थालेका हुन् ।

परम्परागत गोल घर लोप हुँदै गएपछि जिल्लाका पर्यटकीय गाउँमा भने संरक्षण गरिएको छ । पर्यटकीय आकर्षणका लागि व्यास नगरपालिका–१० दुम्सी, दरै गाउँ र आँबुखैरेनी गाउँपालिकाको हिली खर्क गाउँमा एक÷एक  बाटुले  घर संरक्षण गरिएको छ । घुमाउने घर फ्याट्टफुट्ट मात्रै देखिएको र हालका पुस्तालाई आधुनिक घर प्रति रुचि धेरै भएकाले संरक्षण गर्न कठिन भएको आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँकी निर्बतमान अध्यक्ष वसुन्धरा घर्तीले जानकारी दिनुभयो । केही समय पहिले सम्म घुमाउने घरमा दरै, कुमाल लगायत अन्य केही जातिहरुहरु बस्दै आएकोमा हाल उनीहरू पनि बस्न छाडेको उहाँ बताउनुहुन्छ ।

दरै जाति केवल गोलो घरमा मात्रै बस्ने गरेकोले उनीहरूको विशेष पहिचान भएको र हाल उनीहरूले पनि प्रयोग गर्न छाडेकाले लोपको सँघारमा पुगेको घर्ती बताउनुहुन्छ । घर्तीले भन्नुभयो, ‘‘नयाँ पुस्तालाई जानकारी दिनको लागि मेला महोत्सवमा नमुना घुमाउने घर बनाएर प्रदर्शनी गर्ने गरिएको छ ।’’

आधुनिक शैली भित्रिएसँगै पुरानो शैलीका संरचना भत्काउँदै गर्दा परम्परागत घुमाउने घर लोप हुने अवस्थामा पुगेको भादगाउँ दरै समाजका वीरबहादुर दरै बताउनुहुन्छ । घुमाउने घर वातावरण मैत्री र वास्तु शास्त्र अनुकूलको भएकोले संरक्षण गरिनु पर्ने दरै बताउनुहुन्छ । पूर्व र पश्चिम घरको धुरी हुने भएकोले उदाउँदा र अस्ताउँदा पनि सूर्यको किरण घरमा पर्ने, घरको छानो र रातो माटोले लिपपोत गरिएकोले गर्मीमा शीतल जाडोमा न्यानो हुने विशेषता भएको दरै बताउनुहुन्छ । दरैका अनुसार दरै समुदायको घुमाउने घरमा माथिल्लो तलामा अन्नपात राख्ने त्यसको मुनि चार वटा कोठा हुन्छ । पूर्व र उत्तरतिर दुई वटा ढोका हुने भएको वास्तु शास्त्र अनुसारमा उपयुक्त भएको दरै बताउनहुन्छ ।

खाना पकाउने एक, दुई वटा सुत्ने, धान, मकै, कोदो कुटानी पिसानीको ढिकीर कोठा हुने दरैले जानकारी दिनुभयो । घुमाउने घरको विशेषता बारे जान्न केही समय पहिला अमेरिकी नागरिकहरू भादगाउँमा आएको उहाँले स्मरण गर्नुभयो । दरैले भन्नुभयो ‘‘पहिला भादगाउँस्थित दरै बस्तीमा सबै गोलो घर थिए अहिले एउटा पनि छैन कसैले बनाउँदैनन्, पुरानो घरलाई जोगाउन सकिएको छैन ।’’