• २६ पुस २०८१, शुक्रबार

नारायणी नदी किनारमा चियाको प्रदर्शनी गरिने

blog

चितवन, माघ २० गते । यही माघ २६ र २७ गते नारायणी नदी किनारमा नेपाली चियाको बृहत् प्रदर्शनी तथा टी-टेस्टिङ हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा चिया प्रदर्शनी आयोजना हुन लागेको हो ।

‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको हो । चियाका फाइदाको विषयमा जानकारी दिने, सही चियाको सहीरूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम आयोजना गर्न लागिएको बोर्डका कृषि विकास अधिकृत चन्द्र पुरीले जानकारी दिनुभयो । प्रदर्शनीमा चियाको टेस्टिङ हुने भएकाले खाने तरिकासमेत सिकाइने उहाँले बताउनुभयो ।

यसअघि बुटवलमा प्रदर्शनीको आयोजना गरिएको थियो । प्रदर्शनी चितवनमा पहिलो पटक गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो । नेपालको चिया उत्पादन तथा बजारीकरणमा सहजता ल्याउन प्रदर्शनीको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रदर्शनीको कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्योग वाणिज्य सङ्घ चितवन, होटल व्यवसायी सङ्घ चितवन सहआयोजक रहेको सो प्रदर्शनी प्रवर्द्धक भरतपुर महानगरपालिका रहेको छ ।