काठमाडौँ, माघ २० गते । रामसार सूचीमा सूचीकृत नेपालका सिमसार क्षेत्रको सदुपयोग हुन नसकेको पाइएको छ । रामसार संरक्षण गर्ने निकायले आर्थिक लाभ लिने गरी उपयोग गर्न सकेका छैनन् । शुक्रबार विश्व सिमसार दिवस ‘सिमसार–मानव जीवनको आधार’ नारासहित विविध कार्यक्रम आयोजना गरेर मनाइयो ।
नेपालका १० वटा सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत भएका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षलाई सन् १९८७ मा रामसार सूचीमा सूचीकृत गर्दै नेपाल रामसार महासन्धिको पक्ष राष्ट्र भएको थियो । त्यसयता सुर्खेतको घोडाघोडी ताल, कपिलवस्तुको जगदीशपुर ताल, चितवनको बिसहजारी ताल, रारा ताल, डोल्पाको से–फोक्सुन्डो ताल, रसुवाको गोसाइँकुण्ड ताल, सोलुखुम्बुको गोक्यो ताल, इलामको माइपोखरी, पोखराको फेवाताल रामसारका रूपमा सूचीकृत भएका छन् ।
नेपालमा रामसार सूचीकृत सिमसार क्षेत्रले ६० हजार पाँच सय हेक्टरभन्दा बढीको क्षेत्रफल ओगटेको छ । विभिन्न क्षेत्र रामसार सूचीमा सूचीकृत भएपछि रामसार सचिवालयबाट विभिन्न खालका अनुदान लिएर पर्यापर्यटनको विकास र संरक्षणको काम गर्न सक्ने सम्भावना खेर गइरहेको छ । सिमसार संरक्षणविद् शैलेन्द्र पोखरेलले सूचीकृत रामसार क्षेत्रलाई प्रचारप्रसार गर्ने संस्थागत संरचनाको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसैमा कटिबद्ध रहेर काम गर्ने संरचना नै छैन । संस्थागत हस्तक्षेप नभएसम्म अर्थ छैन ।”
सिमसार तथा रामसार क्षेत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभाग दुवैको मातहत पर्छ । उहाँले संरक्षण र प्रवर्धनको कामको नेतृत्व कसले गर्ने भन्ने विवादले यसको सदुपयोग हुन नसकेको बताउनुभयो ।
उहाँले सिमसार संरक्षण व्यक्तिगत लाभ वा सोचको बिचमा अल्झिएको बताउँदै थप्नुभयो, “सिमसार प्रवर्धनको योजना किन ल्याउने ? कसले ल्याउने ? सिमसार बेचेर कसलाई फाइदा छ ? भन्ने सोच हट्न सकेको छैन ।” सिमसार क्षेत्रको आर्थिक लाभबारे अध्ययन अनुसन्धान हुनु पर्छ । सिमसार क्षेत्र जैविक विविधताको जीवनचक्र सुचारु गर्ने प्राकृतिक प्रणाली मात्र नभई मानव जीवनको गुणस्तर, खाद्य सुरक्षा तथा पोषणमा सघाउने आधार पनि हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालका अनुसार निकुञ्ज, वन तथा चुरे संरक्षणले जलाधार व्यवस्थापनका रूपमा सिमसार तथा रामसार क्षेत्रको संरक्षण गर्दै आएको छ । जलवायु परिवर्तनलगायतका कारण पानीको स्रोत घट्दै गएको बेला संरक्षित सिमसार क्षेत्रको संरक्षण पनि चुनौतीपूर्ण बन्दै गएको छ । उहाँले जलवायु परिवर्तनसँगै भूमिगत जलको अत्यधिक दोहन, नदीनालामा ढल मिसाउने, औद्योगिक रसायनयुक्त फोहोर फाल्ने कार्यलाई संरक्षणकारी निकायले नियन्त्रण गर्न नसकेको स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो, “उपभोगको अधिकारसँगै मेरो दायित्व के हो, समाजलाई असर परेको छ कि छैन भन्ने सोचमा परिवर्तन ल्याउन सकिएको छैन ।” उहाँले सिमसार क्षेत्रमा जलसतह कायम राख्ने विषयमा नीतिगत तथा समुदायगत दुवैथरीको पहल आवश्यक रहेको बताउनुभयो ।
वर्षामा आकाशको पानी जम्मा गर्ने, विभिन्न नदी क्षेत्रमा चेकड्याम राख्नेलगायतका काम गर्नु आवश्यक भइसकेको विज्ञहरूको सुझाव छ । रामसारमा सूचीकृत क्षेत्रलाई पर्यटन क्षेत्रसँग जोडेर लाभ लिन तिनैतहको भूमिका के हो भन्नेमा पनि अन्योल छ । हिमाली र संरक्षित क्षेत्रको सिमसार संरक्षण केही हदसम्म भए पनि तराईका सिमसार क्षेत्र व्यवस्थापनको अभावले लोप हुन थालेका छन् । बाढी तथा डुबानका कारण लेदो माटो बढ्दै जाँदा तालतलैया खेतीयोग्य जमिनमा परिणत हुन थालेका छन् ।