• १० मंसिर २०८१, सोमबार

सिमसार मासिदा हराउँदै छन् पानीचरा

blog

कावासोतीको सिमसार क्षेत्रमा देखिएका पानीचरा । तस्विर : मीना कंडेल

मीना कंडेल

कावासोती, माघ १९ गते । नवलपुरमा पछिल्ला वर्षमा मानवीय कारणले सिमसार क्षेत्र मासिदै जाँदा पानीचरा हराउँदै गएका छन् । यहाँका सिमसार नासिएसँगै यहाँ पाइने चरामा भुँडीफोर (गरुड), किङफिसर, टुमटुमलगायतका चरा लोप हुन लागेको चराविदको भनाइ छ । 

नेपालमा सङ्कटापन्न अवस्थामा रहेका एकसय ६८ प्रजातिका चरामध्ये एक चौथाइ हिस्सा पानीचराले ओगटेको वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टिकाराम गिरीले बताउनुभयो । मुख्य वासस्थान सिमसारको विनाससँगै अवैध चरा सिकार तथा व्यापार, उडान मार्गमा हुने अवरोध र जलवायु परिवर्तनले पानीचरा सङ्कटमा परेको जनाइएको छ । 

ताल, तलाउ, पोखरी, नदीनाला, जलाशय, सिञ्चित खेत, जल क्षेत्रको घाँसे मैदानजस्ता सिमसार क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतित गर्ने आश्रित चराहरु लोप हुँदैगएको उहाँको भनाइ छ ।

कावासोतीेका स्थानीय सुधन लम्सालले गाउँको सिमसार क्षेत्र नासिएपछि थुप्रै चरा देख्न छाडेको बताउनुभयो । पानीको मुहान थुनेर केही वर्ष अगाडि माछापोखरी निर्माण गरिएपछि यहाँका पानीचरा देखिन छाडेका छन् । सिमसार जमिनमा पोखरी निर्माण गरिएको यस ठाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । दलदल जमिन सुक्दै गएपछि यहाँ देखिनेगरेका पानीचरा पनि हराउन थालेको लम्सालले बताउनुभयो ।

ग्लोबल वार्मिङले गर्दा कुनै ठाउँमा पुग्नु पर्ने चरा अन्त जाने कारणले चराको संख्यामा कमि आएको हो । पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका जलपंक्षी गणना संयोजक चौधरीका अनुसार नदीहरु दिन प्रतिदिन कुरुप बन्दैगएको छ, पानीका स्रोतमा ढल फोहर मिसाउँदा, पानीको मुहान मासिदै गर्दा विगतभन्दा अहिले चरा घटेका छन् । 

नदि छेउछाउ, ताल तलैया तथा सिमसार आसपास विकास निर्माणसँगै मानवीय गतिविधिले गर्दा पानीमा आश्रित चरालाई असर परिरहेको छ । यसको प्रत्यक्ष उदाहरण भर्खरै गरिएको चरा गणनाले देखाएको छ । मानवीय क्रियाकलापले गर्दा चराको संख्यामा कमी हुँदैगएको हो । 

नेपालमा हालसम्म अभिलेख भएका ४३ प्रजातिका विश्वकै दुर्लभ चरामध्ये १२ प्रजाति पानीचरा भएको चराविद् वासु बिडारीले बताउनुभयो ।  सिमसार आसपास विकास निर्माणसँगै मानवीय गतिविधिले गर्दा आगन्तुक जलपंक्षीको संख्यामा कमी हुँदै गएको बिडारीले बताउनुभयो । हाल नारायणी नदी किनार क्षेत्रमा पाँचसय ५१ प्रजातिका चराहरु गणनामा सूचिकृत छन् ।