गणेश पौडेल
पर्वत, माघ १६ गते । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा ४ वटा मोटरेवल पुल निर्माण हुने भएको छ । लोकमार्गको पोखरा–कुश्मा सडकखण्डअन्तर्गत मोदी गाउँपालिकामा ३ वटा र कुश्मा नगरपालिकामा २ वटा मोटरेवल पुल बन्ने भएको हो ।
लोकमार्गका तमादी खोला र सुन्दरे खोलामा वर्षाको समयमा अत्यधिक बाढी आउँदा सडक भत्किएर मानवीय र भौतिक क्षति भएको थियो । तमादी खोलामा बाढी आउँदा गत असोजको अन्तिम साता गाडी बगाउँदा ३ जनाको मृत्यु भएको थियो । दुई वर्ष पहिला सुन्दरे खोलामा आएको बाढीले गाडीसहित ३ जना बगाएको थियो ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतकाअनुसार तमादी खोलामा पुल निर्माणको काम भइरहेको छ । सो पुलको ७० प्रतिशत काम भइसकेको कार्यालयले जनाएको छ । बाँकी ३ वटा पुलको भने लागत अनुमान भइरहेको कार्यालयका इन्जिनियर धिरज ढकालले जानकारी दिनुभयो । ‘मोदी खोला, पातिखोला तथा सुन्दरे खोलामा मोटरेवल पुल निर्माणका लागि प्रक्रियामा रहेको छ’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार डिमुवास्थित मोदीखोला र पातीचौरको पाती खोलामा सिङ्गल लेनको पुल निर्माण हुनेछ । दुवै स्थानमा पहिलादेखि नै प्रयोगमा रहेका सिङ्गल लेनको पुल नजिक अर्को पुल निर्माण गरिने भएको इन्जिनियर ढकालले बताउनुभयो ।
उहाँका अनुसार मोदी खोलमा ६२ मिटर लामो पुल निर्माण हुने र पातीचौरमा हाल भइरहेको पुलको दुबैतर्फ ५२–५२ मिटर लामो दुई पुल निर्माण हुनेछन् । यस्तै दोबिल्लास्थित सुन्दरे खोलामा ८० मिटर लामो पुल बन्ने बताइएको छ । ४ पुलको लागत ५२ करोड ९० लाख रहेकोमा ४४ करोड १५ लाखमा ठेक्का भई काम सुरु हुने चरणमा रहेका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको २ वर्ष पहिला नै २ लेनको सडक स्तरोन्नति भएको थियो । सडक २ लेनको बनेपछि पुरानो संरचनामा बनेका १ लेनका पुलले सवारीको चाप धान्न गाह्रो भएकाले नयाँ पुलहरू थप गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।