• १४ जेठ २०८१, सोमबार

सल्यानी सिस्नोको बजार नेपालगन्जमा

blog

सुर्खेतरोडस्थित सिटिजन बैंक अगाडिको सडक किनारमा सिस्नो विक्री गर्नुहुँदै बुद्धिराम पुरी । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, माघ १६ गते । नेपालगन्जका एक युवाले सल्यानमा उत्पादन गरिएको सिस्नो नेपालगञ्ज ल्याएर बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । 

कुमाख गाउँपालिका –७ सोनपोखरी सल्यान स्थायी घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्रा बस्दै आउनुभएका ३० वर्षीय युवा बुद्धिराम पुरीले सल्यानबाट सिस्नो नेपालगन्ज ल्याएर विक्री वितरण गर्दै आउनुभएको हो ।

बुद्धिरामले गत दुई महिनादेखि सल्यानबाट सिस्नो नेपालगन्ज ल्याएर नेपालगन्जको सडकमा राखेर बिक्री गर्दैआएको बताउनुभयो । ‘मैले पहाडी जिल्लामा पाइने अर्गानिक रैथाने खाद्य तथा तरकारीजन्य वस्तुहरु विगत केही महिनादेखि नेपालगन्ज ल्या नेपालगन्जको सडकमा राखेर विक्री गर्दै आएको छु’ बुद्धिरामले भन्नुभयो, ‘पहाडी जिल्लामा पाइने अर्गानिक स्थानीय उत्पादन कोदो, मकै, आलु, सिमी, सुन्तला, भाङ्गोका साथै सिस्नो पनि बिक्री गरिरहेको छु ।’

सल्यानमा बस्नुहुने आफ्नो आमाले आफ्नै बारी र कान्लामा फलेको सिस्नो टिपेर नेपालगन्ज पठाउने गर्नुभएको उहाँले बताउनुभयो । ‘सल्यानमा आमा हुनुहुन्छ, आफ्नै बारी र कान्लामा फलेको सिस्नो टिपेर आमाले यहाँ पठाउनुहुन्छ’ उहाँले भन्नुभयो, ‘सिस्नो विक्री गर्न राखेको दिनमा खोसाखोस हुन्छ, माग अत्यन्तै बढी छ पुर्‍याउन सकिरहेको छैन ।’

सिस्नोको माग धेरै भए पनि आफूले हप्तामा दुई–तीन दिन मात्र सिस्नो बिक्री गर्दैआएको उहाँले बताउनुभयो । अन्य अर्गानिक खाद्य तथा तरकारीजन्य वस्तुहरु दैनिक विक्री गर्दै आए पनि सिस्नो भने हप्तामा दुई–तीन दिन मात्र बिक्री गर्दैआएको उहाँको भनाइ छ । सल्यानबाट यहाँ ल्याएर सिस्नो १५० रुपियाँ प्रतिकिलो विक्री गर्दै आएको उहाँले बताउनुभयो ।

बुद्धिरामले सिस्नोको अलावा जाजरकोटको स्थानीय उत्पादन कोदो, सल्यानको मकै, जुम्लाको आलु, डोल्पाको भाङ्गोलगायत अर्गानिक किवी, सुन्तलालगायत सिजन अनुसारका खाद्य तथा तरकारीजन्य वस्तुहरु बिक्री गर्दै आउनुभएको छ ।

हरेक दिन बिहान सुर्खेतरोडस्थित सिटिजन बैंक अगाडिको सडक किनारमा सिस्नोसहित खाद्य तथा तरकारीजन्य वस्तुहरु बिक्री गर्दै आउनुभएका बुद्धिरामले यही पेशाबाट आफ्नो पाँच जनाको परिवारको दैनिक गुजारा चलिरहेको बताउनुभयो । 

‘देशमा केही छैन, केही गर्न सकिँदैन भन्दै दैनिक हजारौं युवा देश छाडेर विदेश पलायन भइरहेका छन्, तर यही देशमा उत्पादन भएका सानातिना वस्तुमा ध्यान दिने हो भने यहीँ आवश्यक पैसा कमाउन सकिन्छ’ बुद्धिरामले भन्नुभयो, ‘युवा पलायनलाई रोक्न सरकारले युवालक्षित विशेष कार्यक्रम ल्याउन जरुरी छ । साथै युवाले पनि यही देशमा सानोतिनो काम गर्न सक्नुपर्छ ।’

सिस्नोको प्रयोगबाट मुटुसम्बन्धी समस्यालाई निको पार्न सहयोग मिल्ने, मधुमेहका रोगीलाई उपयोगी हुने, गर्भवती तथा सुत्केरी महिलाका लागि फाइदाजनक हुने, उच्च रक्तचापका रोगीलाई रक्तचाप नियन्त्रण गर्न सघाउ पुर्‍याउने, प्रोस्टेड ग्लाण्डर र बाथको समस्या भएका रोगीलाई राहत प्रदान गर्ने, मानिसको शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने तथा पिसाबको सङ्क्रमण हुनेहरुका लागि पनि फाइदाजनक हुनेलगायतका औषधीय गुण पाइने चिकित्सकको भनाइ छ ।