• ५ वैशाख २०८१, बुधबार

तराईंबाट पहाड र हिमाल चढ्दै डेंगु

जनस्वास्थ्य समस्या बन्दै उपेक्षा गरिएका रोग : हात्तीपाइले र रेबिज नियन्त्रणमा चुनौती

blog

काठमाडौँ, माघ २० गते । पछिल्लो समय  उपेक्षा गरिएका रोग जनस्वास्थ्यमा समस्या बन्दै गएका छन्। इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार जलवायु परिवर्तनका कारण उपेक्षित रोग जनस्वास्थ्य समस्याका रूपमा देखा पर्दै गएका हुन्। 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले डेङ्गु, कुष्ठरोग, रेबिज, कालाजार, हात्तीपाइले सहितका २१ रोगलाई उपेक्षित रोगमा वर्गीकरण गरेको छ । विश्वमा एक अर्ब भन्दा बढी मानिस यस्तो रोगबाट प्रभावित छन्   

डा. मरासिनीका अनुसार विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुुसी र विषाक्त पदार्थको कारणले यस्तो रोग लाग्ने गर्छ ।  प्राय जसो गरिबीको रेखामुनि रहेका मानिसहरू बढी जोखिममा रहने डा. मरासिनीको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “पर्याप्त सरसफाइको कमी, सङ्क्रमित कीटको टोकाइ, घरपालुवा जनावरसँग नजिकको सम्पर्कमा रहने व्यक्ति र प्राय जसो गरिबीको रेखामुनि रहेका मानिस बढी जोखिममा हुन्छन् ।” 

डेङ्गु, कुष्ठरोग, रेबिज, कालाजार, हात्तीपाइले २१ रोगबाट विश्वमा एक अर्ब मानिस प्रभावित छन् ।

नेपालमा डेङ्गु, रेबिज, ट्रकोमा (खस्रे रोग), कुष्ठरोग, माटोबाट सर्ने जुका, सर्पदंश, लुतो र अन्य इक्टोपारासाइट, हात्तीपाइले, फित्तेजुका, कालाजार, माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसीस र अन्य डीप माइकोसेस गरेर ११ वटा रोग छन् ।डब्लुएचओले यस्ता रोगलाई सन् २०३० सम्म उन्मुलन गर्ने लक्ष्य लिएको छ । 

डा. मरासिनीका अनुसार नेपालबाट केही रोग निवारण गरिएको छ भने केही रोग रोकथाम तथा नियन्त्रण गर्ने रणनीति लिएको छ ।

नेपालले सन् २०१८ मा ट्रकोमा निवारण गरिसकेको छ । कालजार सन् २०२६ र हात्तीपाइले, कुष्ठरोग र रेबिजलाई सन् २०३० भित्र निवारण गरिसक्ने लक्ष्य सरकारको छ । 

वातावरण परिवर्तनका कारण तराईमा मात्र देखिने रोग डेङ्गु, मलेरिया र औँलो पहाडी र हिमाली जिल्लामा देखिन थालेका छन् । यसले गर्दा उन्मुलनमा चुनाैती थपिएको उहाँकाे भनाइ छ । 

नेपालमा रोगको अवस्था 

कालाजार : लामखुट्टे र भुसुनाको टोकाइबाट कालाजार लाग्ने गर्छ । कालाजार कालिकोटमा निवारणको लक्ष्य प्राप्त हुन सकेको छैन । यो रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने, जिल्ला तहमा प्रति १० हजार जनसङ्ख्यामा एक भन्दा कममा कालाजारको सङ्क्रमण पुर्‍याउने र कालाजारका कारण हुने मृत्युलाई एक प्रतिशत भन्दा कम गर्ने सरकारको लक्ष्य लिएको छ । 

वातावरण परिवर्तनका कारण तराईमा मात्र देखिने रोग डेङ्गु, मलेरिया र औँलो पहाडी र हिमाली जिल्लामा देखिन थालेका छन् । यसले गर्दा उन्मुलनमा चुनाैती थपिएको छ । 

कुष्ठरोग : छालारोग विशेषज्ञ डा. रवीन्द्र बाँस्कोटाका अनुसार कुष्ठरोग माइक्रो ब्याक्टेरिया लेप्रे कीटाणुका कारण हुने सङ्क्रामक रोग हो । कुष्ठरोग पनि सन् २०१० मानै निवारण गरेपनि केही स्थानीय तह र प्रदेशमा जनस्वास्थ्यका रूपमा देखा परेको छ । स्थानीय तह स्तरमा लगातार पाँच वर्षसम्म १५ वर्ष मुनिका बालबालिकामा कुष्ठरोगका स्थानीय नयाँ सङ्क्रमणलाई शून्यमा झार्ने सरकारको लक्ष्य छ । 

हात्तीपाइले : सरुवारोग विशेषज्ञ डा. प्रसन्न नापितका अनुसार हात्तीपाइले क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेर फाइलेरिया परजीवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्ने गर्छ । समुदायका हात्तीपाइले रोगको एन्टीजेनेमिया दुई प्रतिशत भन्दा कम र माइक्रोफिलारिया एक प्रतिशत भन्दा कममा पुर्‍याउने लक्ष्य लिएको छ । ५३ जिल्लामा हात्तीपाइलेको औषधी  सेवन बन्द गरिसकेको छ । 

डेङ्गु : सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेङ्गु सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुन्छ । सरकारले डेंगुलाई रोकथाम तथा नियन्त्रण गर्ने लक्ष्य लिएको छ । सन् २००४ मा डेंगुको पहिलो केस रिपोर्ट भएदेखि प्रत्येक वर्ष बिरामीहरूको सङ्ख्या बढिरहेको छ । सन् २०२३ मा ७७ वटै जिल्लाबाट ५२ हजार भन्दा बढी व्यक्तिहरूमा सङ्क्रमण भएर २० जनाको मृत्यु समेत भएको थियो । 

रेबिज : रेबिज सङ्क्रमित जनावरले टोकेपछि र्‍यालबाट रेबिजरोग लाग्ने डा. पुन बताउनुहुन्छ ।  गत आर्थिक वर्षमा कुकुरको टोकाइबाट अस्पताल आउने बिरामीको सङ्ख्या करिब एक लाख भन्दा बढी रहेको थियो । सरकारले आर्थिक वर्ष २०७९/८० मा रेबिजबाट १० जनाको मृत्यु  भएको दाबी गरे पनि हरेक वर्ष सय जनाको मृत्यु हुने अनुमान विज्ञले गरेका छन् ।  नेपालले कुकुरको टोकाइबाट हुने रेबिजलाई सन् २०३० सम्म शून्यमा पुर्‍याउने  लक्ष्य राखेको छ । 

सर्पदंश : आर्थिक वर्ष २०७९/८० मा नौ हजार भन्दा बढी सर्पदंशका केस फेला परेका थिए। जसमध्ये एक हजार २२३ व्यक्तिलाई विषालु सर्पले डसेको थियो । देशभर ११० वटा सर्पदंश उपचार केन्द्र मार्फत सर्पदंशको उपचार हुने गरेको छ । हाल नियन्त्रणमा छ ।

माटोबाट सर्ने जुका : माटोबाट सर्ने जुका हाल नियन्त्रणमा छ । सन् २०१५ मा भएको सर्वेक्षणमा १२ देखि ३४ प्रतिशत स्कुलमा अध्ययनरत विद्यार्थीहरूमा जुकाको सङ्क्रमण देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा पाँच लाख ५० हजार भन्दा बढी जुकाको सङ्क्रमण देखाएको छ । 

कालाजारका बिरामी निवारण भइसकेका जिल्लामा समेत फेला पर्नेक्रम जारी छ । यसले सन् २०२६ सम्ममा यो रोगलाई निवारण गर्ने सरकारको लक्ष्यमा चुनौती थपिएको छ ।

मुख्य चुनौती 

कालाजारका बिरामी निवारण भइसकेका जिल्लामा समेत फेला पर्नेक्रम जारी छ । यसले सन् २०२६ सम्ममा यो रोगलाई निवारण गर्ने सरकारको लक्ष्यमा चुनौती थपिएको डा. मरासिनीको भनाइ छ । उहाँका अनुसार अहिले कालिकोटमा कालाजारको सङ्क्रमण दर उच्च छ  । त्यसैगरी, सुर्खेत, बैतडी, बाजुरा, कैलाली, ओखलढुङ्गा जस्ता जिल्लामा बिरामीको सङ्ख्या अझै बढ्दो छ । 

उहाँका अनुसार झापा, महोत्तरी, सर्लाही, रौतहट, धनुषा, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगको सङ्क्रमणलाई रोक्न सकिएको छैन । केही जिल्ला तथा स्थानीय तहहरूमा अझै पनि कुष्ठरोगका बिरामीहरू प्रति दश हजार जनसङ्ख्यामा एकको निवारण सीमाभन्दा माथि रहेको छ । 

डेंगी चिकनगुनिया जस्ता अन्य रोगहरूबाट बच्चा मुख्यतया सहरी क्षेत्रमा  एडिस जातको लामखुट्टेको प्रजनन रोक्न बहुक्षेत्रीय सहकार्यको आवश्यक रहेको उहाँ बताउनुहुन्छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।