• २५ वैशाख २०८१, मङ्गलबार

कार्यसम्पादनमा धुर्कोट गाउँपालिका उत्कृष्ट

blog

रमेश विश्वकर्मा

गुल्मी, माघ १६ गते । गुल्मीको धुर्कोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट भएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा धुर्कोट गाउँपालिका पहिलो भएको सार्वजनिक नतिजामा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनका आधारमा सार्वजनिक भएको नतिजा अनुसार यस गाउँपालिकाले ९३.७५ प्रतिशत अङ्क प्राप्त गरेको छ । चन्द्रकोट गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाले ९३.२५ प्रतिशत, मुसिकोट नगरपालिकाले ९१.५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

त्यस्तै, मदाने गाउँपालिकाले ९१।२५ प्रतिशत, रेसुङ्गा नगरपालिकाले ९०.२५ प्रतिशत, कालीगण्डकी गाउँपालिकाले ९० प्रतिशत, मालिका गाउँपालिकाले ८८.५ प्रतिशत, सत्यवती गाउँपालिकाले ८८ प्रतिशत, गुल्मी दरबार गाउँपालिकाले ८६.२५ प्रतिशत, इस्मा गाउँपालिकाले ८५.५ प्रतिशत र छत्रकोट गाउँपालिकाले ८२.२५ प्रतिशत अङ्क प्राप्त गरेका छन् । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम स्थानीय तहको मूल्याङ्कन गरिन्छ । कार्यविधि अनुसार स्थानीय तहमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, समन्वय र सहकार्य गरी दश वटा क्षेत्रका १०० सूचकसहित १०० पूर्णाङ्कमा मूल्याङ्कन गरिएको हुन्छ ।

स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरूको जानकारी लिई आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न आर्थिक वर्ष २०७६/०७७ देखि स्थानीय तहको स्वमूल्याङ्कन गरिँदै आएको रुरु क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा जिल्ला समन्वय समितिबाट पृष्ठपोषण भए पश्चात् सार्वजनिक गरिने व्यवस्था छ । यता, रेसुङ्गा नगरपालिकाको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा पनि सार्वजनिक भएको छ । यस नगरपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ८२.५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।