तिलाचन पाण्डे
तम्घास, माघ १५ गते । नेकपा (एमाले) गुल्मीले स्थानीय तहमा भएका अनियमितता छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्लामा रहेका दुई नगर र १० पालिकासहित १२ स्थानीय तहमा भएका अनियमितता, भ्रष्टाचार, पक्षपात जनसरोकारका विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको सो दलले जनाएको छ ।
स्थानीय तहमा असल अभ्यासलाई निरन्तरता दिन र जनताको समस्यालाई समाधान गर्न ज्ञापनपत्र बुझाएको एमाले गुल्मीका सचिव गणेश श्रीपालीले बताउनुभयो । त्यस्तै, गुल्मी जिल्लाका स्थानीय तह तथा सरकारी कार्यालयमा कामकारबाहीका सम्बन्धमा एमालेको गम्भीर ध्यानाकर्षण भएको सो दलले जनाएको छ । विकास निर्माणका काममा गरिएको ढिलासुस्ती, कमजोर गुणस्तर सच्याउन आग्रह गरिएको श्रीपालीले बताउनुभयो ।
सरकारी निकायमा बढ्दो इन्धन, गाडी, चन्दा सहयोग तथा भ्रमण गोष्ठीका फजुल खर्च नियन्त्रण गर्न तथा सरकारी निकायमा सामग्री खरिद गर्दा हुने चलखेललाई सच्चाउन एमाले गुल्मीले आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझ्दै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले आफूले सबैलाई समान रूपले हेरेको र पक्षपात नभएको दाबी गर्नुभयो । उहाँले कामको सिलसिलामा कुनै अन्जानमा केही भएको भए आफू बसेर छलफल गर्न तयार रहेको बताउनुभयो । नगरलाई उत्कृष्ट बनाउन सबैको साथ आवश्यक रहेकाले यस अभियानमा साथ दिन उहाँले आग्रह गर्नुभयो ।
गुल्मीमा एमालेले तीन, माओवादीले चार र काँग्रेसले पाँच स्थानीय तहमा नेतृत्व गरेको छ । एमाले गुल्मीले २०८० लाई प्रशिक्षण वर्षका रूपमा घोषणा गरेको छ । पार्टीको वार्षिक कार्ययोजना अनुसार जिल्ला, सबै पालिका र सम्पर्क मञ्चमा गरिएका प्रशिक्षण प्रभावकारी रहेको ठहर गर्दै माघ र फागुनमा वडास्तरका प्रशिक्षण सम्पन्न गर्ने र यस वर्षलाई प्रशिक्षण वर्षका रूपमा घोषणा गरिएको जिल्ला सचिव गणेश श्रीपालीले जानकारी दिनुभयो ।
प्रशिक्षणका लागि विषयवस्तु पार्टीको स्कुल विभागको संयोजनमा निर्धारण गरी पठाउने र प्रशिक्षणका लागि प्रदेश तथा केन्द्रीय जिम्मेवारीमा रहेका व्यक्तिलाई अनुरोध गर्ने निर्णय भएको उहाँले बताउनुभयो । यसका साथै जनसङ्गठनका पालिकासम्मका प्रशिक्षण फागुनभित्र सञ्चालन गर्ने र वडा तथा जनसङ्गठनका प्रशिक्षण फागुनभित्र सकेर यो वर्ष २०८० लाई प्रशिक्षण वर्षका रूपमा घोषित गर्ने गरी जिल्ला पार्टीले निर्णय गरेको श्रीपालीले बताउनुभयो ।