सिराज खान
नेपालगन्ज, माघ १५ गते । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्तर्गत एसइई पास गरेका ९२ छात्राहरुलाई साइकल वितरण गरेको छ । घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्तर्गतका सात सामुदायिक विद्यालयहरुका ९२ छात्रालाई साइकल वितरण गरिएको हो ।
२०७९ सालमा एसइई पास गरेका गाउँपालिकाका ७ वटा माध्यमिक विद्यालयका ९२ जना छात्रालाई साइकल वितरण गरिएको डुडुवाको शिक्षा शाखाका स्रोतव्यक्ति राम एकबाल मण्डलले बताउनुभयो ।
एक समारोहका बिच साइकल वितरण गर्दै गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले यसबाट किशोरीहरुलाई उच्च शिक्षा हासिल गर्न टाढा तथा बजारसम्म आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो ।उहाँले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष चौधरीले बालबालिकालाई शिक्षातर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै पालिकाभित्र सञ्चालित विद्यालयहरुमा शैक्षिक गुणस्तरीयताका लागि पहिलो चरणमा आधारभूत विद्यालयलाई सिसि क्यामरामार्फत निगरानी सुरु गरिएको बताउनुभयो । उहाँले डुडुवाले संस्कार शिक्षालाई जोड दिँदै आगामी शैक्षिक सत्रबाट स्थानीय पाठयक्रम तयार गरि लागु गर्न लागेको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवाल, विभिन्न विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायतको सहभागिता थियो ।
साइकल पाएका किशोरीहरुले अब आफूहरुलाई टाढाको कलेजमा गएर पढ्न सहज हुने बताएका छन् ।