• १४ मंसिर २०८१, शुक्रबार

यात्रु आफैँले बटन थिचेर सडक पार गर्ने प्रविधि जडान

blog

सडकमा ‘अन डिमान्ड पेलिक्यान क्रसिङ सिस्टम’ को उद्घाटन गर्दै नगर प्रमुख खाण र उपप्रमुख चौधरी लगायत । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, माघ १५ गते । रुपन्देहीको बुटवल–भैरहवा सिद्धार्थ राजमार्गमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने (अन डिमान्ड पेलिक्यान क्रसिङ सिस्टम) सुरु गरिएको छ । 

‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट एक कार्यक्रमबिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरदेवी चौधरीले संयुक्त रूपमा बटन थिचेर शुभारम्भ गर्नुभयो । तिलोत्तमाको योगिकुटी शान्ति कुञ्जमा यो प्रविधि शुभारम्भ गरिएको हो । 

तिलोत्तमा कोटिहवा, ड्राइभरटोल, भलवारी र मणिग्राम गरी विभिन्न चोकमा ट्राफिक लाइट जडान गरिएका छन् । धेरै दुर्घटना हुने क्षेत्र मानेर सो क्षेत्रमा शान्तिकुञ्ज चोक मुख्य सडकमा पैदल यात्रु आफैले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको पेडेस्ट्रियन क्रसिङ राखेको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । 

‘दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले पैदल यात्रुलाई विशेष ध्यानमा राखी सो प्रविधि जडान गरिएको हो, हामीले यो सँगै साइकल लेन पनि बनाएका छौँ, यसको पनि केही दिनमा उद्घाटन गर्छौ’ उहाँले भन्नुभयो ।

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरको समग्र बिकासका लागि प्रविधिले पनि धेरै प्रभाव पार्ने बताउनुभयो । पालिकामा प्रविधिको विकास, भौतिक र मानवीय विकासलाई जोड दिइएको र फलस्वरूप सेल्फक्रसिङ प्रविधि राखिएको बताउनुभयो ।

क्यु सेरा मल्टिप्रपोजका विवेक श्रेष्ठले पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने बताउनुभयो । अटोमेटिक ट्राफिक लाइटले सवारी साधनसँग तालमेल नहुने हुँदा आवश्यकताको आधारमा मात्र लाइट बाल्ने प्रविधि जडान गरिएको उहाँको भनाइ छ । 

‘यसको कुल लागत १० लाख छ । काठमाडौँबाहिर पहिलो पटक तिलोत्तमामा यो प्रविधि जडान भएको हो’ उहाँले भन्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक बजिरसिंह विष्टले ट्राफिक नियमको पालना गरी सवारी चलाएमा दुर्घटना नहुने बताउनुभयो । ‘पैदल यात्रुले स्विच थिचेको ३ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ, गाडी रोकिन्छ अनि पारीपट्टी यात्रुलाई बाटो काट्ने हरियो मानिसको सिग्नल आएपछि यात्रुले बाटो पार गर्छन् । त्यसको केहीबेरमा हाइवेमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ’ प्रहरी निरीक्षक विष्टले भन्नुभयो । 

नयाँ प्रविधिले बाटो वारपार गर्न निकै सहज भएको तिलोत्तमाका स्थानीय मोहन न्यौपानेको भनाइ छ ।