• ५ वैशाख २०८१, बुधबार

ग्राभेल हुँदा चले कालोपत्रेपछि बन्द

blog

काठमाडौँ, माघ १५ गते । सबै मौसममा नियमित उडान होस् भनेर विमानस्थलको स्तरोन्नति गरिन्छ । तर ग्राभेल हुँदा सञ्चालन हुने गरेका विमानस्थल धावन मार्ग स्तरोन्नति गरी कालोपत्रे बनाएपछि चाहिँ सञ्चालन भएका छैनन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कालोपत्रे भएर सञ्चालनमा आउन नसकेका विमानस्थल नौ वटा छन् । ती नौ विमानस्थलमा बागलुङ विमानस्थल, बैतडी, रुकुमको चौरजहारी, डोटी, खोटाङको लामीडाँडा, मनाङ, डोल्पाको मसिनेचौर, रुम्जाटार र कालीकोटको सुनथराली हुन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कालोपत्रे भएका ती विमानस्थलका धावनमार्ग ग्राभेल हुँदा जहाज उडान–अवतरण हुन्थ्यो । तर सडक यातायातको पहुँच, छोटो धावन मार्ग र साना जहाजको कमी र महँगो हवाई भाडाका कारण  विमानस्थल उपयोगमा आउन सकेका छैनन् । प्राधिकरणको तथ्याङ्क अनुसार बागलुङको बलेवा विमानस्थलमा २०७३ चैत ९ गतेदेखि नगरपालिकाले १४ जना यात्रुको जिम्मा लिएपछि सुरु भएको उडान २०७४ कात्तिकपछि बन्द छ । द्वन्द्वकालका बेला विमानस्थलका संरचनामा आगजनी भएपछि २०५२ सालदेखि पूर्णरूपमा बन्द बैतडी विमानस्थलमा २०७७ असोज १७ गते परीक्षण उडान भएको थियो । परीक्षण उडान भएर पनि त्यहाँ २०७८ चैत १० यता उडान बन्द छ । सोही दिन परीक्षण उडान भएको डोटी विमानस्थलमा पनि परीक्षण उडानपछि केही उडान भए पनि हाल विमानस्थल बन्द छ ।

त्यस्तै लामीडाँडा विमानस्थलमा कालोपत्रे हुनुअघि उडान हुथ्यो । तर २०७८ सालदेखि उडान हुन सकेको छैन । मनाङमा पनि उडान नभएको एक दशकभन्दा बढी भइसकेको छ । डोल्पाको मसिनेचौर विमानस्थलमा पनि २०७४ यता उडान भएको छैन । त्यस्तै कालीकोटमा पनि धावनमार्ग कालोपत्रे भइसके पनि उडान सञ्चालन हुन सकेको छैन ।

हाल देशभर तीन अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल छन् । जसमध्ये कालोपत्रे र ग्राभेल धावनमार्ग भएका २२ वटा विमानस्थल सञ्चालनमा छैनन् । सूचना अधिकारी भुलले भन्नुभयो, “मुलुकका अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भए पनि निर्माण गरिएका पूर्वाधारको प्रभावकारी उपयोग नहुँदा उड्डयन क्षेत्रमा गरिएको पाँच, छ अर्ब लगानीको प्रतिफल प्राप्त गर्न सकिएको छैन । निर्माण भएर उपकरणसमेत जडान भएका विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको अर्बौं लगानी त्यत्तिकै खेर गइरहेको छ ।”

चारदेखि पाँच सय मिटरसम्म धावनमार्ग भएका नौ वटा विमानस्थलमध्ये एउटा धावन मार्ग कालोपत्रे गर्न प्राधिकरणले ५० करोड रुपियाँसम्म लगानी गरेको छ । कालोपत्रे भएर उडान सञ्चालन हुन नसक्दा विमानस्थलको धावन मार्गमा भएको झन्डै पाँच अर्ब रुपियाँ लगानीको प्रतिफल प्राप्त हुन नसकेको उहाँले बताउनुभयो । त्यसमाथि १३ वटा कच्ची धावनमार्ग भएका विमानस्थलमा निर्माण भएका टावर, टर्मिनललगायतका संरचनाको रेखदेख गर्न कर्मचारी खर्चको समेत व्ययभार लगानीको प्रतिफल भने पाउन नसकेको उहाँले जानकारी दिनुभयो ।  

व्यापारिक सम्भावना नभई निर्माण भएर सञ्चालनमा आउन नसकेका विमानस्थलमा सानो जहाजले मात्रै उडान गर्न सक्ने र साना जहाजको भाडा दर सार्वजनिक यातायातको भन्दा निकै महँगो हुने भएकाले यात्रुको प्राथमिकतामा नपरेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कालोपत्रे भएका धावनमार्ग एक हजार पाँच सय मिटरसम्म भएका भए ठुलो एटिआर जहाजले उडान भर्न सक्थे । हवाई भाडा सस्तो हुन्थ्यो । यात्रुले समेत आरामदायी यात्रा गर्न सक्थे । तर राज्यसँग साना जहाजको सङ्ख्या कम छ । निजी कम्पनी नाफामूलक गन्तव्यमा आकर्षित भएपछि प्रतिस्पर्धा नै भएको छैन ।”

प्राधिकरणका अनुसार कालोपत्रे धावनमार्ग भएका विमानस्थल जुनुसुकैबेला प्रयोग गर्न सकिने अवस्थामा रहे पनि सञ्चालनको तयारी छैन । प्रयोगमा नरहेका विमानस्थलमध्ये दार्चुला, बागलुङको ढोरपाटन, गोरखाको पालुङटार, दोलखाको जिरी, सोलुखुम्बुको कांगेलडाँडा, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, लाङटाङ, महेन्द्रनगर, रोल्पा, सोलुखम्बुकै स्याङ्बोचे, ओखलढुङ्गाको रुम्जाटार र कैलालीको टीकापुरमा लाखौँ लगानी भएको छ । यी विमानस्थलको धावनमार्ग कालोपत्रे भएको छैन । 

धावनमार्ग कालोपत्रे नभए पनि यी विमानस्थलमध्ये पालुङटारमा दुई दशकदेखि उडान भएको छैन । कांगेलडाँडामा २०७७ मङ्सिर ३० गते परीक्षण उडान भएको थियो । बिचमा केही समय उडान भए पनि हाल बन्द छ । खिजी चण्डेश्वरीमा पनि २०७६ पुस १० गते परीक्षण उडान भएको थियो । त्यहाँ पनि उडान बन्द छ । कञ्चनपुरको महेन्द्रनगरमा झन्डै दुई दशकदेखि उडान बन्द छ । रोल्पाको स्याङ्बोचेमा पनि २०७३ यता उडान बन्द छ । त्यस्तै मेघौली विमानस्थल, कैलालीको टीकापुर र अछामको कमल बजारमा दशक बिते पनि उडान हुन सकेको छैन ।

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।