• २१ वैशाख २०८१, शुक्रबार

नागरिक सहायता कक्षसहितको भवन उद्घाटन

blog

कार्यक्रममा सहभागी अतिथिहरु । तस्विर : साबित्री गिरी

साबित्री गिरी

कोहलपुर, माघ १४ गते । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको परिसरमा निर्मित नागरिक सहायता कक्ष र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । 

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य र लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले संयुक्तरुपमा भवनको उद्घाटन गर्नुभयो । 

कोहलपुर नगर विकास समितिको २२ लाख ६२ हजारको सहयोगमा चार कोठे भवन निर्माण भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले भवन निर्माणसँगै सेवाग्राहीलाई छिटोछरितो र सहज तरिकाले सेवा प्रवाह गर्न सुझाव दिनुभयो । 

कोहलपुर नगर विकास समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख आचार्यले आम नागरिकको आवश्यकतासँग जोडिएका संरचना निर्माण आफ्नो प्राथमिकता रहेको बताउनुभयो । ‘यहाँ ३० औँ करोडका भवन निर्माण भएका छन् । करोडौँ संरचनाका भवनको शिलान्यास मैले आफै गरेको छु उहाँले भन्नुभयो, ‘आज जस्तापाताले छाएको भवन उद्घाटन गरेकोजस्तो गौरवानुभूति कहिल्यै मिलेको थिएन ।’ 

यस्तै, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले स्थानीय सरकारको सहयोगमा निर्मित भवनबाट प्रहरीले जनमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले इप्रका कोहलपुरले कार्यालयलाई व्यवस्थित र सौन्दर्यीकरण गरेर अनुकरणीय कार्य गरेको भन्दै प्रहरीले नागरिकलाई दिने सेवा पनि स्तरीय हुनुपर्नेमा जोड दिनुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले पनि इप्रकाको काम प्रशंसनीय रहेको भन्दै अन्य सरकारी कार्यालयले पनि सिक्नु पर्ने बताउनुभयो । उहाँले व्यक्तिगत सौन्दर्यतासँगै कार्यालयको सौन्दर्यता पनि महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । कार्यालयको पर्खालमा चेतनामूलक भनाइहरू लेखिएका बोर्डहरू टाँसिएको छ । त्यसैगरी नागरिक सहायता कक्ष, दर्ता चलानी कक्ष, सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको कक्ष समेत निर्माण गरिएको छ ।