काठमाडौँ, माघ १४ गते । पाँचौँ दक्षिण एसियाली सेपाक ताक्रो च्याम्पियनसिप माघ १७ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल सेपाक ताक्रो सङ्घको आयोजनामा सञ्चालन हुने च्याम्पियनसिपमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तानको सहभागिता रहनेछ ।
नेपालले दोस्रो पटक च्याम्पियनसिप आयोजना गर्न लागेको हो । यसअघि नेपालले सन् २०१३ मा च्याम्पियनसिप आयोजना गरेको थियो । च्याम्पियनसिपका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ ।
च्याम्पियनसिपको क्रममा अन्तर्राष्ट्रिय सेपाक ताक्रो सङ्घका कार्यवाहक अध्यक्ष बुन्चाई लोर्पिपात र महासचिव दातो अबदुलहालिम विन कादेर नेपाल आउन लागेको आयोजक नेपाल सेपाक ताक्रोसङ्घले जनाएको छ ।
प्रतियोगितामा पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । जसमा पुरुषतर्फ तीन तथा महिलाहरू दुई स्पर्धा समावेश गरिएको छ । नेपालले च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ २५ खेलाडीलाई दुई महिनादेखि बन्द प्रशिक्षण र तयारी गराइरहेको छ ।