• २१ असार २०८१, शुक्रबार

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण

blog

सानीभेरी गाउँपालिका–९ मा निर्माण भएका अस्थायी आवास । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, माघ १४ गते । भूकम्प गएको करिब तीन महिना पुग्नै लाग्दा रुकुमपश्चिममा १८ हजार ८६६ वटा टहरा (अस्थायी आवास) निर्माण भएका छन् । भूकम्पका कारण क्षति भएका करिब ३० हजार घरमध्ये १८ हजार बढी परिवारले टहरा निर्माण गरेका हुन् । 

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले आठबिसकोट नगरपालिकामा पाँच हजार ७८५ वटा, चौरजहारी नगरपालिकामा तीन हजार ९१५ वटा, मुसीकोट नगरपालिकामा ४९६, सानीभेरी गाउँपालिकामा पाँच हजार २४०, त्रिवेणी गाउँपालिकामा दुई हजार ४७५ र बाँफीकोट गाउँपालिकामा ९७३ वटा अस्थायी आवास निर्माण भएको बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार, अहिले छ हजार ९७६ वटा टहरा निर्माणको चरणमा रहेका छन् । प्रमुख जिल्ला अधिकारी पन्तले अस्थायी आवास निर्माणका लागि छ वटा स्थानीय तहमा रहेका स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा ७३ करोड ५१ लाख ५० हजार रुपियाँ पठाइसकिएको बताउनुभयो ।

यो रकम २९ हजार ४०६ वटा अस्थायी आवास निर्माणका लागि निकासा गरिएको हो । सोही रकमबाट भूकम्पपीडितका लागि धमाधम अस्थायी आवास निर्माण कार्य भइरहेको हो ।

पहिलो किस्तामा सत्ताइस हजार लाभग्राही 

जिल्ला विपत् कोषबाट निकाशा आएको रकममध्ये स्थानीय तहले हालसम्म ६७ करोड ५९ लाख रुपियाँ मात्र लाभग्राहीलाई भुक्तानी गरेका छन् । पहिलो किस्ताबापतको यो रकम २७ हजार ३६ जना लाभग्राहीको खातामा जम्मा गरिएको छ ।

चौरजहारी नगरपालिकाका छ हजार २५४ जना, आठबिसकोट नगरपालिका नौ हजार ६६७, मुसीकोट नगरपालिकाका एक हजार ४०, सानीभेरी गाउँपालिकाका पाँच हजार ६२४, त्रिवेणी गाउँपालिकाका दुई हजार ७५२ र बाँफिकोट गाउँपालिकाका एक हजार ६९९ जना लाभग्राही खातामा रकम जम्मा गरिएको छ । 

एक जना लाभग्राहीको खातामा २५ हजार रुपियाँका दरले पहिलो किस्ताको अनुदान रकम जम्मा गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । हालसम्म २९ हजार ४०६ लाभग्राही रहेकोमा २७ हजार ३६ लाभग्राहीको खातामा रकम भुक्तानी भएको छ । जिल्लाबाट रकम निकासा भए पनि स्थानीय तहले दुई हजार ३७० लाभग्राहीलाई पहिलो किस्ताबापतको रकम दिन बाँकी रहेको जनाइएको छ ।