धनगढी समाचारदाता
धनगढी, माघ १४ गते । कैलालीको धनगढी उपमहानगरपालिकास्थित उर्मी हुँदै भादा, कैलारी गाउँपालिका जोड्ने कृषि सडक निर्माण सुस्त बनेको छ । निर्माण कम्पनीले तदारुकता नदेखाउँदा सरकारको प्राथमिकता प्राप्त कृषि सडक निर्माण सुस्त बनेको हो ।
ठेकेदारले सुरुवाती चरणमा सडकमा डोजर चलाए पनि काममा तदारुकता नदेखाएको स्थानीयको आरोप छ । भएको सडक भत्काएर निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दा आउजाउ गर्न समस्या भइरहेको थारू होमस्टे गाउँ भादा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताउनुभयो ।
निर्माण कम्पनीले दुई ठाउँमा कलभर्ट बनाउने र माटो फिलिङ गर्नेबाहेक अरू काम नगरेको उहाँको जिकिर छ । “अहिले कामै रोकिएर यो सडक अलपत्र छ,” चौधरीले भन्नुभयो ।
वडा नम्बर १५ देखि वडा नम्बर १६ को भादामा चार किलोमिटर र बाँकी कैलारी गाउँपालिकामा छ किलोमिटर गरी जम्मा १० किलोमिटर कालोपत्रे सडक निर्माणका लागि २०७९ साल जेठमा ठेक्का भएको थियो । डेढ वर्षमा सक्ने गरेर १० करोड ५२ लाख रुपियाँमा बाजुराका पुण्य अधिकारी सञ्चालक रहेको बजरागुरु बी एन्ड बी जेभीले निर्माणको ठेक्का पाएको हो तर समायवधि सकिए पनि काम भने आधा पनि भएको छैन ।
निर्माणको म्याद सकिँदासम्म सो सडकको भौतिक प्रगति ३५ प्रतिशत मात्रै देखिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर तारानाथ सिग्देलले बताउनुभयो ।
सडक क्षेत्रमा पर्ने रुख कटानको आदेश अहिलेसम्म प्रदान नगरेको वडा नम्बर १६ का वडाध्यक्ष रामलाल चौधरीले बताउनुभयो । रुख कटान आदेश नमिलेका कारण ठेकेदारलाई काममा ढिलासुस्ती गर्ने बहानाबाजी बनेको हो ।
कृषि सडक निर्माणमा ढिलाइ हुँदा थारू होमस्टे गाउँ भादासहित प्रसिद्ध बेहडाबाबा मन्दिरसम्म पुग्न पर्यटकलाई अप्ठ्यारो छ । कतिपय पर्यटक बाटोको समस्याका कारण भादासम्म नपुग्ने गरेको थारू होमस्टेका सञ्चालक बताउँछन् ।