• १२ मंसिर २०८१, बुधबार

खोलाको पानी पिउन बाध्य

blog

बैतडी समाचारदाता 

बैतडी, माघ १४ गते  । सिगासको थला गाउँको दलित बस्तीमा खानेपानीको समस्या भएको छ । यहाँको २५० घरधुरी एक घण्टा ओरालो झरेर ढडेखोलाको पानी पिउन बाध्य छन् । सिगास गाउँपालिका–६, थला गाउँ दलितबस्तीमा खानेपानी नहुँदा समस्या भएको स्थानीय नरेन्द्र विकले बताउनुभयो । हिउँदमा खोलाको पानी र बर्खा लागेपछि आकासे पानी पिउनुपर्ने बाध्यता रहेको छ । 

साँझ, बिहान र दिउँसो गरेर तीन पटक पानी भर्न जाँदा अधिकांश समय पानी भर्नमै बित्ने गरेको उहाँले बताउनुभयो । निर्वाचनका बेला उम्मेदवारले खानेपानीको धारा दिने आश्वासन दिए पनि जितेपछि बेपत्ता हुने गरेको आरोप स्थानीयको छ । 

स्थानीयदेखि सङ्घ र प्रदेशका नेताले वाचा बिर्सिएको दलित समुदायले गुनासो गरेका छन् । “चुनावका बेला सबैले घर घरमा धारा दिन्छौँ भन्छन् भोट दिएर जितायौँ,” स्थानीय नरेन्द्र विकले भन्नुभयो । 

चुनावका बेला सबै उम्मेदवारले दलित बस्तीमा लिफ्टिङ खानेपानी पुर्‍याउने वाचा गरेको भए पनि पानी ल्याउन कसैले पहल नगरेको उहाँले बताउनुभयो । 

दलित बस्तीमै रहेको भूमिराज माध्यमिक विद्यालय थलाका विद्यार्थीसमेत खानेपानीबाट वञ्चित रहेको स्थानीय दीपेन्द्रसिंह धामीले बताउनुभयो । विद्यालयमा आउने खानेपानी जीर्ण हुँदा पानीको समस्या छ । २८४ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा खानेपानी नहुँदा घरबाटै पानी बोकेर लैजानुपर्ने बाध्यता छ ।   

सिगास गाउँपालिका–६ का वडाध्यक्ष जेतबहादुर साउदले पर्याप्त बजटे नहुँदा खानेपानी उपलब्ध गराउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वडामा बजेट नहुँदा दलित समुदायको पानीको समस्या डिभिजन खानेपानी कार्यालयमा पुर्‍याएका छौँ । 

खानेपानी योजना आए दलित बस्तीबाट करिब एक घण्टाको दुरीमा रहेको किरमडे मुहान र जोगेनी मुहानबाट पानी ल्याउन सकिने स्थानीयले बताएका छन् ।