• १३ साउन २०८१, आइतबार

खडेरीले सुक्न थाल्यो बाली

blog

प्रेमराज सिम्खडा 

कालीकोट, माघ १४ गते । लामो समयसम्मको खडेरीका कारण पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँ, जौ, उम्रिन सकेनन् । माघको दोस्रो हप्ता लागिसक्दा पनि पानी परेको छैन । हिमाली तथा पहाडी क्षेत्रमा छरेको हिउँदे बाली सुकेर पहेँलो हुन थालेको छ । कतिपय ठाउँका किसानले आधाभन्दा बढी उब्जाउ जमिनमा हिउँदे बाली लगाउँदैनन् । 

हिउँदे बाली लगाइएको ८० प्रतिशत भूभागमा गहुँ बाली कतै उम्रिएको छैन भने कतै गहुँ उम्रिएको बाली सुक्न थालेको छ । 

कालीकोटका रास्कोट नगरपालिकाको लेकाली क्षेत्रमा छरिएको गहुँ पूरै सुकेर पहेँलो बनेको छ । यता शुभकालिका गाउँपालिका, तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका, महावै गाउँपालिकालगायतका सिञ्चित क्षेत्रमा समेत गहुँ राम्रो हुन सकेको छैन । 

रास्कोटका कृषक शान्ता रोकामगरले रास्कोट जस्तो सिञ्चित क्षेत्र नै लामो समयको खडेरीले सुक्खा भएको बताउनुभयो । उहाँले माघमा अनिवार्य पानी पथ्र्यो तर यसपालिका पुस र माघको मसान्तमा समेत पानी नपर्दा चिन्ता बढेको बताउनुभयो । प्रायः लामो समय पानी नपरे पनि पुस र माघको मसान्तमा पानी पर्ने भएकाले कृषक यही समयको पर्खाइमा हुन्थे । यतिबेला यो समय पनि टरिसकेको छ ।

सान्नीत्रिवेणी–९ का मानबहादुर बुढाले खडेरीका कारणले भोकमरीको समस्या बढ्ने बताउनुभयो । माघमा पनि हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदे बाली सुक्न थालेका छन् । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कातिर तुसारो र सुक्खायामले बाली खाएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले प्रकाश संश्लेषण प्रक्रियामा असर पुग्दा हिउँदे बालीसँगै स्याउ उत्पादनमा पनि क्षति पुग्ने बताउनुभयो ।