• १३ साउन २०८१, आइतबार

उद्योगमा एक खर्ब छब्बिस अर्ब लगानी प्रतिबद्धता

blog

काठमाडौँ, माघ १४ गते ।  चालु आर्थिक वर्षको छ महिनामा (साउन–पुस) २११ स्वदेशी उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार छ महिनामा सानाठुला र मझौला गरी २११ उद्योग दर्ता भएका हुन् । ती उद्योगमा एक खर्ब २६ अर्ब रुपियाँ लगानी प्रतिबद्धता जनाएको छ । सरकारले चालु आवमा कुल ३६५ वटा नयाँ उद्योग दर्ता हुने लक्ष्य राखेको छ । 

दर्ता भएका उद्योगमा २८ वटा ठुला उद्योग, १६ वटा मझौला उद्योग र १६७ वटा साना उद्योग छन् । चालु आर्थिक वर्षमा ठुला उद्योग ८०, मझौला ८५ र साना दुई सय वटा उद्योग दर्ता गर्ने लक्ष्य छ । छ महिनामा सबैभन्दा धेरै साना उद्योग दर्ता भएको विभागको तथ्याङ्कले देखाएको छ । 

चालु आवको पहिलो छ महिनामा उद्योग दर्ताको सङ्ख्या गत आवको यसै महिनाको तुलनामा वृद्धि भए पनि लगानी प्रतिबद्धतामा भने कमी आएको छ । विभागको तथ्याङ्क अनुसार गत आव २०७९/८० को पहिलो छ महिनामा १४५ उद्योग दर्ता भएका थिए । जसको कुल प्रस्तावित लगानी एक खर्ब ३९ अर्ब रुपियाँ रहेको थियो ।

यस वर्ष पुसमा मात्र कुल ३२ उद्योग दर्ता भएका छन् । यसमा १२ अर्ब ३१ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस वर्ष दर्ता भएका उद्योगले कुल १३ हजार ६७० रोजगारी सिर्जनाको लक्ष्य राखेका छन् । पुसमा मात्र दर्ता भएका उद्योगले दुई हजार १८१ रोजगारी सिर्जनाको लक्ष्य राखिएको छ । यस्तै चालु आवको पहिलो छ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भने २२ अर्ब ३३ करोड रुपियाँ बराबरको स्वीकृति भएको छ । यो वर्ष कुल ३८ अर्ब विदेशी लगानी भित्र्याउने लक्ष्य रहेको छ । पुसमा मात्र एक अर्ब ७३ करोड रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको छ । छ महिनामा विदेशी लगानीका २२६ वटा उद्योग दर्ता भएका छन् । पुस महिनामा मात्र २७ वटा उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । यी उद्योगले १२ हजार १६७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । विदेशी लगानी प्रतिबद्धता सबैभन्दा धेरै पर्यटन, सेवामूलक र ऊर्जा क्षेत्रमा रहेको  विभागले जनाएको छ । 

यसैबिच चालु आवको साउनदेखि नै मुलुकमा भित्रिने विदेशी लगानीमा सुधार हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत साउनदेखि मङ्सिरसम्म तीन अर्ब ९२ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । गत वर्ष सो अवधिमा ६० करोड ५९ लाख रुपियाँ भित्रिएको थियो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।