• १३ साउन २०८१, आइतबार

कृषि र पर्यटनका क्षेत्रमा लगानी गर्न आग्रह

blog

धनगढी समाचारदाता

धनगढी, माघ १४ गते । सुदूरपश्चिम प्रदेशमा लगानी जुटाउने विषयमा सो प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को प्रतिनिधिमण्डलबिच छलफल भएको छ । एनआरएनएका पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार सो छलफलका क्रममा मन्त्री शाहीले कृषि र पर्यटनका क्षेत्र प्रदेश सरकारको प्राथमिकताको विषय भएको बताउँदै लगानी गर्न एनआरएनएका अगुवाहरूलाई आग्रह गर्नुभएको थियो । 

सो छलफलमा मन्त्री शाहीले सुदूरपश्चिमको जीवनस्तर सुधार्न जरुरी रहेको बताउँदै एनआरएनएको सहयोग जरुरी रहेको बताउनुभयो । मन्त्री शाहीले सुदूरपश्चिममा खानेपानी बिक्रीवितरण र जैतुनको तेल उत्पादनमा लगानी गरेर पनि आम्दानी बढाउन सक्ने सम्भावना भएकाले त्यसतर्फ सोच्न आग्रह गर्नुभयो ।  सो अवसरमा एनआरएनएका अध्यक्ष डा. बद्री केसीले अझै ऐन, कानुनका कारण पनि लगानी गर्न समस्या रहेको बताउँदै त्यस्तो समस्या सङ्घ र प्रदेश दुवैतिर रहेको बताउनुभयो । यद्यपि आफूहरूको सुदूरपश्चिम प्रदेशलाई लगानी गर्ने हिसाबले प्राथमिकतामा राखेको बताउनुभयो । 

अहिले साङ्केतिक रूपमा सेती, महाकाली अस्पताल र कञ्चनपुरको क्याम्पसमा साङ्केतिक रूपमा सहयोग गरेको बताउँदै अध्यक्ष केसीले धितोपत्र बोर्डमा चाँडै केही काम पूरा भएपछि १० अर्बको लगानी कोष बन्ने र त्यसपछि धेरै काम गर्न सकिने बताउनुभयो । उहाँले सो कोषमा नेपाल सरकारको पाँच र एनआरएनएको ९५ प्रतिशत लगानी रहने बताउनुभयो ।  हामी ८७ देशमा फैलिएका छौँ, अहिले संसारभर ८० लाख नेपाली छन् नेपालमा वातावरण बनेमा नेपालीको एनआरएनएको मात्र होइन, ती देशका व्यापारीलाई पनि यहाँ लगानी गराउन आफूहरूले पुलको काम गर्छौं, अध्यक्ष केसीले बताउनुभयो । 

“एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले आफूहरूले दुःखले कमाएको पैसा नेपाल र त्यसमा पनि सुदूरपश्चिम प्रदेशमा खर्च गरेर नेपालसँग जोडिन वा सहकार्य गर्न लालायित छौँ,” भन्नुभयो । उहाँले एनआरएनए डे अक्टोबर ११ प्रदेश सरकारसँग जोडिएर मनाउन पाए झन् राम्रो हुने सुझाव पनि दिनुभयो ।