• १३ असोज २०८१, आइतबार

चुँदी रम्घालाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्नुपर्छ : राष्ट्रपति पौडेल

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटमा भानु नगरपालिकाका मेयर उपमेयरसहितका जनप्रतिनिधि एवम् भानु साहित्य उद्यान समितिका पदाधिकारी । तस्बिरः राष्ट्रपति कार्यालय

काठमाडौँ, माघ १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र गन्तव्यका रुपमा विकास गर्न प्राप्त बजेटको सदुपयोग गरेर काम गर्नुपर्ने बताउनुभएको छ । 

भानु नगरपालिकाका मेयर उपमेयरसहितका जनप्रतिनिधि एवम् भानु साहित्य उद्यान समितिका पदाधिकारीसँग शनिबार भएको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक, पारदर्शी र प्रभावकारी ढंगले गुरुयोजना अनुरुप प्राप्त बजेटको सदुपयोग गर्न उहाँहरुलाई सुझाव  दिनुभएको हो ।

उहाँले भानु जन्मस्थल र आदिकवि भानुभक्तको महत्त्व उजागर गरी गुरुयोजना अनुरुप तदारुकताका साथ काम गर्न सुझाव दिनुभयो । 

नेपाल सरकार मन्त्रिपरिषदको केही समय अघिको निर्णयबाट भानु साहित्य उद्यानको प्रयोजनका लागि जग्गा प्राप्ति, गुरुयोजना निर्माण, साहित्यिक स्रष्टाको शालिक निर्माण र आवश्यक साहित्य संस्कृति झल्कने संरचना बनाउन भानु नगरपालिकालाई पाँच करोड रुपियाँ बजेट दिने निर्णय गरेको थियो । 

सो अवसरमा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रपतिको निरन्तर चासो र पहलमा बजेट उपलब्ध भएकोमा उहाँप्रति विशेष आभार व्यक्त गर्नुभयो । राष्ट्रपतिबाट प्रेरणा लिएर दिनरात नभनी काम अगाडि बढाउने उहाँको भनाइ छ ।

सो अवसरमा उद्यान समितिका अध्यक्ष डा. जयराज आचार्यले समितिले उद्यान निर्माणको लागि आवश्यक परामर्श, रेखदेख र योजनासहित नगरपालिकालाई सहयोग गर्ने जानकारी दिनुभयो ।  सो अवसरमा सहभागीले संघ, प्रदेश, स्थानीय सरकार, स्थानीय सरोकारवाला  सक्रियतामा चुँदी रम्घालाई देश विदेशका साहित्य साधक गन्तव्य र साधना केन्द्र बनाउन काम गर्न सुझाव दिनुभएको थियो ।